​चीनमा हाम्रा मन्त्रीको चर्तिकला

पहिलोपटक मन्त्री हुँदा जिल्ला वन अधिकृतलाई शौचालयमा थुनेर चर्चामा आएका उद्योग वाणिज्यमन्त्री मात्रिका यादवले छिमेकी मुलुक चीनमा पुगेर पनि त्यस्तै फण्डा गर्न भ्याएका छन् । 

गत जुनमा चीनको युन्नान प्रान्तमा दक्षिण तथा दक्षिणपूर्व एशियाली सामान प्रदर्शनी तथा लगानी मेला ०१९ आयोजना भएको थियो । नेपालको तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका उनको लागि जुन १२ को उद्घाटन समारोहमा कुर्सी छुट्याइएको थियो । नाम लेखिएको कार्ड मञ्चमा थियो । उद्घोषकले आसनग्रहण गरिदिन माइकबाट बारम्बार आग्रह गरेकै हुन् । तर उनी गएनन् । आसन ग्रहण मात्र नगरेको होइन, खुन्मिङका कुनै पनि भेटघाट र दुईपक्षीय छलफलमा सहभागी भएनन् ।

धेरैले सोचे– सञ्चो नभएर आसनग्रहणमा सहभागी नभएका होलान् तर कुरा त्यस्तो होइन रहेछ । मन्त्रीका एकजना सहयोगीले जनआस्थालाई बताएअनुसार त्यत्रो ठूलो अन्तर्राष्ट्रिय समारोह बहिष्कार गर्नुपर्ने कारणचाहिँ अध्यागमन कार्यालयमा भएको सानो त्रुटि थियो । विमानबाट ओर्लिएपछि यादवले भीआईपी च्यानलगेटबाट जानुपर्नेमा सामान्य यात्रुको बाटो प्रयोग गरे । फलस्वरुप उनलाई लाइनमा राखेर चेकजाँच गरियो । अध्यागमनका कर्मचारीले उनी मन्त्री भएको भेउ नै पाएनन् ।

मन्त्रीले पाउने विशिष्ट कक्षको सुविधा नदिएको र आमन्त्रण गरेर अपमान गरेको भन्दै उनले त्यति ठूलो अन्तर्राष्ट्रिय समारोह बहिष्कार गरेका हुन् । उनी उद्घाटन समारोह छोडेर आफ्नो उडान तालिकालाई अगाडि सारी छन्दूतिर लागेको बताइन्छ ।

यादवले चीनमा सनक देखाएको यो पहिलोपटक होइन । गत बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी जाँदा उही समयमा गए पनि राजकीय टोलीमा थिएनन् । चीनले आयोजना गरेको बीआरआई दोस्रो अन्तर्राष्ट्रिय सहकार्य मञ्चको उद्घाटन समारोहमा चाँडै पुगेका यादव मन्त्री बस्ने कुर्सीमा बसिदिए । तर त्यो राष्ट्रपतिको भ्रमण टोलीमा सहभागी हुनेहरूका लागि छुट्याइएको थियो । राष्ट्रपतिसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल थिए । चिनियाँ सुरक्षाकर्मीले त्यो कुर्सीबाट उठाएपछि समारोहमै उनले केहीबेर होहल्ला मच्चाए ।

झोंक्की स्वभावका उनीमाथि नै त्यस्तो अवगाल आइपर्ने रहेछ । गत कात्तिक १९ देखि २४ गतेसम्म सांघाईमा अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजना भएको थियो । १३० भन्दा बढी मुलुक सहभागी भएको त्यत्रो ठूलो समारोहमा नेपालको नेतृत्व गर्दै पुगेका थिए, यादव । उनलाई त्यहाँ पनि एक्सरे मेसिनमा छिराएर चेकजाँच गरियो । फलस्वरुप उद्घाटन समारोहमा भाग लिएनन् ।

एकातिर रिसाउने स्वभाव छ भने अर्कातिर आयोजक राष्ट्रबाट पनि केही त्रुटि भएको देखिन्छ । सूचना समन्वय राम्रोसँग हुन नसक्दा बारम्बार उनले आफ्नो अपमान भएको ठानेका छन् । मन्त्रीलाई आतिथ्यका लागि बोलाएपछि चीनले सधैँ भिआइपी सुविधा दिँदै आएको छ तर यादवको भ्रमणमा राम्रोसँग व्यवस्थापन नभएकाले चिढिएको हुनुपर्छ । 

टिप्पणीहरू