स्वस्थ प्रधानमन्त्री

हामी सबैका लागि खुशीको कुरा छ । प्रधानमन्त्री केपी ओलीलाई केही भएको छैन । उहाँको स्वास्थ्य ठीक छ । ठीक मात्र होइन अत्यन्त ठीक छ । आफ्नो स्वास्थ्य जाँच गराउन सिंगापुर जानुभएको थियो । सिंगापुरले उहाँको स्वास्थ्यमा कुनै खराबी छैन भनेपछि उहाँ खुशी भई नेपाल फर्किनुभएको छ । 

त्यसो त उहाँको स्वास्थ्यमा कुनै खराबी छैन भनेर नेपालकै डाक्टरहरूले पनि नभनेका होइनन् । तर, नेपाली डाक्टरप्रति उहाँको भरोसा छैन । नेपालमा सबैजना डाक्टर भन्छन् तर के हो के हो । सर्टिफिकेटै नक्कली हो कि ? पैसा ख्वाएर नम्बर थपेर पास भएका हुन् कि ? चिट चोरेर पास भएका हुन् कि ? नेपालमा डाक्टरी कसरी पास हुन्छ त्यो त उहाँलाई थाहा छ नि ! मेडिकल कलेज चलाउने धेरै मानिससँग उहाँको सम्बन्ध छ । त्यसैले मेडिकल कलेज कसरी चलाइन्छ र त्यहाँ डाक्टर कसरी पास हुन्छन् भन्ने उहाँलाई राम्रै थाहा छ । त्यही भएर नेपालका डाक्टरले स्वास्थ्य ठीक छ भने पनि उहाँलाई ठीक छ जस्तो लाग्दैन । सिंगापुरका डाक्टरले भनेपछि ढुक्क हुनुभयो । 

पहिले त उहाँ स्वास्थ्य जाँच गराउन भारत जानुहुन्थ्यो । तर, अब राष्ट्रवादी छवि बनिसकेको हुनाले भारतमा जँचाउन उचित पनि भएन । सिंगापुर, जापान वा अमेरिकातिरै जँचाउनु उचित हुन्छ । भारतबाट जति टाढा जँचाउन सकिन्छ राष्ट्रवादी छवि त्यति नै चम्किलो हुन्छ । आखिर प्रधानमन्त्रीजस्तो मान्छेले आफ्नो स्वास्थ्य मात्र हेरेर त भएन नि, कि कसो ?

टिप्पणीहरू