​सिंगापुरबाट शासन

अबको केही समय नेपाल सिंगापुरबाट सञ्चालन हुने भएको छ । यो नेपाली जनताका लागि खुशीको कुरा हुन सक्छ । प्रधानमन्त्री केपी ओली स्वास्थ्योपचारका लागि पुनः सिंगापुर जाने हुनुभयो । उहाँ सिंगापुर जानुभएपछि नेपालको सत्ता पनि उतैबाट सञ्चालन हुने भयो । पूरा नभए पनि केही दिन त हुने भयो नि ! 

सिंगापुर भनेपछि नेपाली जनताको सपना नै भने पनि हुन्छ । जम्मै नेता नेपाललाई सिंगापुर बनाइदिन्छु भन्दै भोट माग्ने गर्छन् । भोट पाएपछिचाहिँ नेता कहाँ पुग्छन् त्यो कसैलाई थाहा हुँदैन । तर, अरू जो जहाँ पुगे पनि अहिले प्रधानमन्त्रीचाहिँ सिंगापुर पुग्ने हुनुभएको छ । मलाई लाग्छ, उहाँ सिंगापुर पुग्नुभएको बेला आफ्नो मात्र होइन, सकिन्छ भने नेपालकै पनि थोरबहुत उपचार गर्दा हुन्छ । सुनिन्छ, यदि आवश्यक प¥यो भने प्रधानमन्त्रीको पुनः किड्नी फेर्नुपर्ने हुन सक्छ । यदि, आवश्यक प¥यो भने नेपालकै किड्नी फेरेर उपचार गर्दा हुन्छ होला । जति उपचार गर्दा पनि देशको अवस्था राम्रो भइरहेको छैन । अतः एक पटक किड्नी नै फेरेर हेर्ने हो कि ?

सिंगापुरको चुस्त विकासबाटै थाहा हुन्छ, यो देशको किड्नी अझसम्म केही भएको छैन । राम्ररी काम गरिरहेको छ । हाम्रो देशलाई पनि यस्तै किड्नी चाहिएको छ । चुस्त, दुरुस्त, जतिखेर पनि राम्ररी काम गर्न सक्ने । यसबारे पनि केही सोच्न सकिएला कि ? 

टिप्पणीहरू