शेरबहादुरजी धोकेवाज होइन : अध्यक्ष नेपाल

शेरबहादुरजी धोकेवाज होइन : अध्यक्ष नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आफू विश्वस्त रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवा गठबन्धनप्रति प्रतिवध्द रहेको भन्दै उहाँले प्रशंसा पनि गर्नुभयो ।

एमाले अध्यक्ष केपी ओलीले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने बेला गठबन्धन टुटाउन राखेको शर्त नमानेको दृष्टान्त दिँदै अध्यक्ष नेपालले देउवालाई वचनको पक्का नेताका रुपमा प्रशंसा गर्नुभएको हो । उहाँले सत्ता गठबन्धनका दलहरुबीच चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको पनि बताउनुभयो ।

‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट हटाउने शर्त राख्दा शेरबहादुरजीले मान्नु भएन, भन्नुभएछ– म धोका दिने मान्छे होइन,’ नेपालले त्यतिबेलाको प्रसंग निकाल्दै भन्नुभयो, ‘अहिले पनि कांग्रेसका कतिपयले भनेका छन्, गठबन्धन हुँदैन तर शेरबहादुरजीले निर्वाचनसम्म सँगसँगै जानेछौं भनिरहनु भएको छ, अब उहाँको पार्टीले के निर्णय गर्छ, पर्खेर बसेका छौं ।’

आजै अखिल नेपाल महिला संघ (समाजवादी) को काठमाडौं भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री पत्नी आरजु राणाको पनि प्रशंसा गर्नुभयो । ‘आरजु देउवाले कैलालीमा पुगेर भन्नुभएछ– ‘म अब कैलालीबाट नै उठछु, चुनावमा गठबन्धन चाहिन्छ, गठबन्धनको महत्व बुझिदिनु भएकोमा आरजुजीलाई पनि धन्यवाद ।’

देउवाप्रति पुरै विश्वस्त रहनुभएका अध्यक्ष नेपालले एमसीसी अनुमोदन निःशर्त गराउन खोजेको तर त्यसका लागि चारवटा शर्त राखेको पनि खुलासा गर्नुभएको छ । ‘एमसीसी पारित गराउनका लागि शेरबहादुरजीलाई चारवटा शर्त राखियो, यो शर्त पूरा गर्ने हो भने विनाशर्त एमसीसी पास गर्छु केपी ओलीले भनेका रहेका छन,’ नेपालले भन्नुभयो, ‘तर,उहाँले (देउवा) मान्नुभएन ।’

टिप्पणीहरू