बाटोमा ट्रिपरको लाइन लगाएर चालक सबै फरार
अवैध ग्राभेल उत्खनन्को आरोपमा प्रहरीले धरपकड गरेपछि ट्रिपर र जेसीबी चालक गाडी छाडेर भागेका छन् । उत्खनन् गरिरहेको अवस्थामा प्रहरी पुगेपछि गाडीको साँचो लिएर ड्राइभर सबै फरार भएका हुन् ।
चालक भागेपछि प्रहरीले पाँच वटा ट्रिपर र एउटा जेसीबीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सिरहाको गोलबजार–१, मुक्सारबाट अवैध उत्खनन् गरिरहेका बेला प्रहरीले ती गाडी समातेको हो । स्थानीयले दिएको सूचनाको आधारमा ना.३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा१ख २०८८ नम्बरको ट्रिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर हिजो राति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ट्रिपर र स्काभेटर नियन्त्रणमा लिएपछि साँचो लिएर चालकहरू फरार भएकाले चार वटा ट्रिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खनन् स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिएका छन् ।
प्रत्येक वर्ष विकास निर्माण सुरु भएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन् हुने गरेको छ । स्थानीय तहमा नै खानी दर्ता गर्ने र त्यसको राजश्व लिने व्यवस्था भए पनि उनीहरूको मौनताले मिलेमतोको आशंका स्थानीयले गरेका छन् ।
गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले कुनै पनि खानी नगरमा दर्ता नभएको जानकारी दिए । सहनीले प्रहरीले ट्रिपर नियन्त्रणा लिएको विषयमा पनि जानकारी नभएको बताए ।

टिप्पणीहरू