कालोकोट लाएर यस्तो गर्ने हो ?
अरुलाई न्याय दिन सँधै तत्पर रहने कानुन व्यवसायीहरु पनि कारबाहीमा पर्न सक्छन् भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, पछिल्ला दुई वर्षमा झण्डै दुई दर्जन वकिलमाथि कारबाही गरिएको छ । नेपाल बार काउन्सिलका अनुसार त्यस अवधिमा ११ जना कानुन व्यवसायी कारबाहीमा परेका छन् भने ६६ जनामाथि लागेको अभियोग एउटा टुंगोमा पुगेको छ ।
२०७६ पुस २३ गते अभिवक्ता कृष्णबहादुर खत्रीलाई निलम्बित गरियो । त्यस्तै, सरकारी कागजात किर्ते गरेको आरोपमा सोही वर्ष अधिवक्ता पुण्यप्रसाद गौतमको अनुमतिपत्र खारेज भयो । प्रमाणपत्र खारेजीको विरोध गर्दै गौतम पुनरावेदननिम्ति सर्वोच्च गएकोमा यही आइतवार सुनुवाइको पालो नै आएन । किर्ते गरेकै अभियोगमा गत कात्तिक २१ गते अर्का अधिवक्ता बुणराज निरौला पनि मुछिएका छन् ।
अभिवक्ता खगेन्द्रराज बोहोराले आफूलाई अधिवक्ता भन्दै हिँड्ने गरेको पाइएपछि उनलाई गत पुसमा नसिहत दिनुका साथै त्यस्तो कार्य दोहोरिएमा कारबाहीको चेतावनी दिइएको छ । सर्वोच्च अदालतको कर्मचारी भन्दै नक्कली भिजिटिङ कार्ड दिने अधिवक्ता भोजकुमार बस्नेत र गोपाल भण्डारीलाई समेत कारबाही गरिएको छ ।
उता अधिवक्ता प्रमोदकुमार सुवेदी, रमेशकुमार रिमाल, बाबुराम शर्मा रेग्मी, सुधा रिजाल पनि बार काउन्सिलद्वारा दण्डित हुन पुगेका छन् । वरिष्ठ अधिवक्ता रामेश्वर सुवेदीसमेत कारबाहीमा परेको काउन्सिलले जनाएको छ । पछिल्लो समय न्यायिक क्षेत्र आफै पनि शुध्द नभएको यसले देखाएको छ । अरुलाई न्याय दिन खडा गरिएका न्यायालयका कतिपय कर्मचारी नै न्यायको लागि लड्नुपर्ने अवस्था समेत देखिन्छ ।
टिप्पणीहरू