श्रीमानहरु मेयर र उपमेयर, श्रीमतीहरु कर्मचारी

श्रीमानहरु मेयर र उपमेयर, श्रीमतीहरु कर्मचारी

निर्वाचन र अख्तियार प्रमुखको गृहजिल्ला संखुवासभाको खाँदवारी नगरपालिकामा श्रीमानहरु मेयर र उपमेयर बन्ने भएपछि श्रीमतीलाई कार्यालय ब्यवस्थापनमा झन् सजिलो हुन लागेको स्थानीयले अड्कल लगाएका छन् । जिल्लामा गठबन्धनको बैठकबाट काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरमा टिकट पाउने सहमति भएपछि हुनेवाला मेयर र उपमेयरका श्रीमतीहरु पहिलेभन्दा बढी फुरुङ्ग बनेको चर्चा छ ।

नेपाली काँग्रेसले मेयरमा महेश थपलिया र माओवादीले उपमेयरमा दिव्य बराललाई टिकट दिने निधो गरेका हुन् । दुवैले यसअघिका (दिवंगत) युवराज दाहाल कार्यकारी प्रमुख हुँदा आफ्ना श्रीमतीलाई नगरपालिकाको सहायक सरहको पदमा नियुक्ति दिलाएका थिए ।

उनीहरु अहिलेसम्म पनि नगरपालिकामै कार्यरत छन् । अब एउटीका श्रीमान मेयर र अर्कीकी श्रीमान् पनि उपमेयर हुने भएपछि उनीहरुको भाग्य चम्कन लागेको भन्दै नगरपालिकाका कर्मचारीहरुले खुशी मनाउन थालेका हुन् ।

मेयरका उम्मेदवार महेशकी श्रीमती सुशीला थपलिया स्थानीय बरुण बहुमुखी क्याम्पसकी स्थायी प्राध्यापक रहेको बताइन्छ । उनी बिहान कलेज पढाएर दिउँसो नगरपालिकामा सामान्य स्तरको जागिर खान पनि भ्याउँछिन् । उपमेयरकी श्रीमती भगवती भेटुवाल बराल हुन् ।

यसरी श्रीमतीलाई जुन पदमा जसरी पनि जागीर खुवाउने नेताहरुले जनप्रतिनिधि बनेपछि पाउँदा अलकत्रा पनि खानसक्ने लख काढिएको छ । अलकत्रा पनि खाने प्रवृत्तिका नेतालाई खाँदवारीको मेयर र उपमेयरमा जनताले चुन्नु पर्ने भएपछि भोलिका दिनमा आशा के गर्ने ? भन्दै स्थानीयले कानेखुसी गरेका छन् ।

टिप्पणीहरू