रेणु दाहालको उम्मेदवारी अन्तिम समयमा
पाँच दलीय सत्तारुढ गठबन्धनको तर्फबाट चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । आज नेता तथा कार्यकर्तासँगै निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएकी दाहालले गठबन्धनको तर्फबाट मेयरमा साझा उम्मेदवारको रुपमा नाम दर्ता गराउनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणुले केही दिन अगाडि मेयर पदबाट राजीनामा दिनुभएको थियो । गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रले भरतपुरको प्रमुख पद लिएको छ । अघिल्लो निर्वाचनमा पनि उहाँलाई जिताउन पार्टीले काँग्रेससँग तालमेल गरेको थियो ।
गठबन्धनकै साझा उम्मेदवारका रुपमा उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गर्नुभएको छ । काँग्रेसको महानगर कमिटी सभापति अधिकारीलाई काँग्रेसले उपमेयरमा उठाएको हो ।
भरतपुरमा दाहाल र अधिकारीको टिमले अन्तिम समयमा नाम दर्ता गरेको हो । निर्वाचन कार्यालयका अनुसार उहाँहरुले अपरान्ह ४ बजे नाम दर्ता गराउनुभएको हो ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको निम्ति हिजो र आज उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । आज साँझ ५ बजेपछि उक्त समय सकिएको छ ।
टिप्पणीहरू