धादिङमा पञ्चेबाजाको तालमा नाचगानसहित मनोनयन दर्ता
स्थानीय चुनावको निम्ति आज भएको मनोनयन दर्ताको क्रममा धादिङमा पनि राजनीतिक दलहरुले पञ्चेबाजा घन्काएका छन् । अधिकांश दलका उम्मेदवारहरुले बाजागाजासहित तामझामपूर्ण तवरले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रायः विवाह,ब्रतबन्धजस्ता शुभकार्यमा बजाइने पन्चेबाजालाई दलका कार्यकर्ताले पनि शुभसाइत मानेर बजाएका हुन् । नेकपा एमालेबाट नीलकण्ठ नगरपालिकाको विभिन्न पदमा उम्मेदवारी दिन जाने क्रममा पञ्चेबाजा बजाइएको थियो ।
एमालेले मात्रै होइन,नेपाली काँग्रेस, नेकपा माओवादी,नेकपा एकीकृत समाजवादीलगायत दलका उम्मेदवारले पनि प्रायः सबै ठाउँमा बाजागाजासहित निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । प्रायः आफ्ना समर्थक र कार्यकर्तासँग मनोनयन दर्ता गर्न जाने चलन भएपनि धादिङका दलहरुले यस पटक पन्चेबाजा नै घन्काएका हुन् ।
धादिङमा रहेका दुई नगरपालिका र ११ गाउँपालिकामा नेकपा एमालेले एक्लै उम्मेदवारी दिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् ।
दुई नगरपालिकासहित १३ स्थानीय तहमध्ये काँग्रेसले आठ वटामा प्रमुख र चार वटामा उपप्रमुख,नेकपा माओवादीले तीन वटामा प्रमुख र पाँच वटामा उपप्रमुख,समाजवादीले दुई वटामा प्रमुख र वटामा उपप्रमुखको उम्मेदवारी हालेका छन् । जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी र उपप्रमुख समाजवादीको भागमा परेको छ ।
प्रदेशस्तरीय पाँचदलीय गठबन्धनको निर्णयबमोजिम नै नगरपालिकाका प्रमुख,उपप्रमुख र गाउँपालिकाका अध्यक्ष,उपाध्यक्षको टुंगो लगाएर सोहीबमोजिम मनोनयन दर्ता गराइएको नेकपा एकीकृत समाजवादीका धादिङ इञ्चार्ज गुरुप्रसाद बुर्लाकोटीले बताए ।
टिप्पणीहरू