एमाले अध्यक्ष हेलिकप्टरमा, माधव नेपाल हवाइजहाजमा
प्रमुख राजनीतिक दलका नेता, मन्त्री, सांसदलाई स्थानीय तहको निर्वाचनमा तय गरिएका कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भएको छ । राजधानीभित्रका र राजधानी बाहिरका कतिपय कार्यक्रममा उपस्थित हुनै पर्ने भएपछि उनीहरुले भ्याएसम्म हवाइजहाज र अपर्झटमा हेलिकप्टर चार्टर गर्न थालेका हुन् ।
हिजो एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हेलिकप्टरमा हेटौंडा पुगेर साँझ राजधानी फर्कनुभएको हो । उहाँ पार्टीको काममा सहभागी हुन दिउँसो सिम्रिक एअरको हेलिकप्टर चढेर हेटौंडा जानुभएको थियो ।
पाँच सदस्यीय टोली लिएर उहाँ पौने ३ बजे त्यसतर्फ जानुभयो भने साँझ सवा ६ बजे राजधानी फर्कनुभएको हो ।
हिजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहट र अन्य जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन हिजो बिहान पौने ८ बजे सिमरातर्फ जानुभएको हो ।
उहाँ यति एअरलाइन्सको उडानमा त्यसतर्फ जानुभएको बताइन्छ ।
हिजै राज्यमन्त्री उमेश श्रेष्ठ पाँच सदस्यीय टोली लिएर बिहान पौने ७ बजे रामेछाप जानुभएको थियो । हिजो कतार एअरवेजको उडानमा दोहाबाट विश्व बैंकका नेपाल, बंगलादेश र श्रीलंका हेर्ने प्रमुख फारिस हैजर हादाद जेर्भोस बिहान ८ बजे काठमाडौं ओर्लनुभएको हो ।
उता पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि बुद्ध एयरको उडान हिजो बिहान ९ बजे विराटनगरबाट काठमाडौं आउनुभयो भने सौर्य एअरलाइन्सको उडानबाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बिहान ९ बजे काठमाडौंबाट भद्रपुर जानुभएको छ ।
त्यसैगरी यति एयरलाइन्सको बिहान पौन १० बजेको उडानबाट पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत काठमाडौंबाट नेपालगन्ज जानुभयो भने वैशाख १८ गते सोही एयरलाइन्सको बिहान सवा ९ बजेको उडानमा पूर्वमन्त्री भानुभक्त ढकाल काठमाडौंबाट विराटनगर जानुभयो ।
वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव श्री एयरलाइन्सको बिहान साढे १० बजेको उडानमा काठमाडौंबाट सिमरा जानुभएको हो । सोही एअरलाइन्सको दिउँसो साढे १२ बजेको उडानमा एमाले सचिव योगेश भट्टराई काठमाडौंबाट विराटनगर पुग्नुभएको थियो ।
बुद्ध एयरको जनकपुर–काठमाडौ उडानबाट पूर्वमन्त्री लिलानाथ श्रेष्ठ हिजो दिउँसो साढे १ बजे काठमाडौं आउनुभयो भने अस्ति भद्रपुर गएको स्वीट्जरल्याण्डका राजदूत अन्ना एलिजावेथसहितको तीन सदस्यीय टोली हिजो दिउँसो पौने २ बजे विराटनगरबाट बुद्ध एअरको उडानमा काठमााडौं ओर्लेको हो ।
हिजै राजबिराजबाट बुद्ध एयर चढेर पूर्वमन्त्री तेजुलाल चौधरी साढे २ बजे राजधानी आउनुभएको थियो । उता राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित पाँच जनाको टोली यति एयरलाइन्सको उडानमा दिउँसो ३ बजे काठमाडौंबाट पोखरा पुगेको छ ।
हिजै बुद्ध एयरको भरतपुर– काठमाडौं उडानमा पूर्वमन्त्री विक्रम पाण्डे पौने ५ बजे काठमाडौं ओर्लनुभएको थियो । पूर्वमन्त्री मोतिलाल दुगड यति एअरलाइन्सको उडानमा अपरान्ह सवा ५ बजे विराटनगरबाट काठमाडौं आउनुभयो ।
नेकपा क्रान्किारीका नेता सीपी गजुरेल बुद्ध एयरको उडानमा हिजो साँझ पौने ६ बजे सिमराबाट काठमाडौं आउनुभएको हो ।
टिप्पणीहरू