भारतीय कूटनीतिज्ञ मन्त्रालयमा, रुसी राजदूत घरमा
काठमाडौंस्थित भारतीय दूतावासकी कार्यवाहक राजदूत नामग्य छोदेन खम्पाले सिंहदरबार पुगेर विभिन्न मन्त्रालयका मन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । उता रुसी राजदूतले भने हिजै एक जना राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्रीसँग उहाँकै घरमा भेटेर कुराकानी गर्नुभएको छ ।
भारतीय कार्यवाहक राजदूत नामग्य छोदेन खम्पा र मन्त्री महिन्द्र राय यादवबीच हिजो दिउँसो कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भेट भएको हो । उहाँहरुबीच मध्यान्ह पौने १ बजेदेखि पौने २ बजेसम्म कुराकानी भएको थियो ।
त्यसपछि उहाँ सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुग्नुभयो । झण्डै २ बजे त्यहाँ पुगेर उहाँले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग पनि करिब एक घण्टा भेटवार्ता गर्नुभएको थियो ।
उता रुसी राजदूत अलेक्सेइ ए नोभिकोभ भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँग भेटघाटको निम्ति उहाँको निवास डल्लु पुग्नुभएको थियो । राजदूत नोभिकोभले खनालसँग मध्यान्ह सवा १२ बजेदेखि झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको खनालको स्वकीय सचिवालयले पुष्टि गरेको छ ।
टिप्पणीहरू