सरकारलाई रास्वपाको प्रश्न : सवारी दुर्घटनामा किन गम्भीर नभएको ?
राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्था वा निर्देशनको निम्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासमक्ष आग्रह गरेको छ । रास्वपाका महामन्त्री तथा प्रवक्ता डा.मुकुल ढकालले आज मन्त्री ज्वालालगायतले ध्यानाकर्षण पत्र बुझाउँदै त्यस्तो आग्रह गरेका हुन् ।
उनले दुर्घटनाको डरलाग्दो आँकडा र भयावह दृश्य बारम्बार देखिरहँदा पनि सरकार र तिनका निकाय न्यूनीकरणतर्फ गम्भीर नभएको बताएका छन् । त्यस्तै, दुर्घटना न्यूनीकरणका लागि ठोस कार्ययोजना नबनाइएको र दुर्घटनाले सामाजिक र आर्थिक रुपमा पारेको असरबारे सामान्य अध्ययनसमेत नगरिएको रास्वपाको गुनासो छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सवारी दुर्घटनाको भयावह अवस्था, दुर्घटनाकै कारण व्यहोर्नु परिरहेको सामाजिक र आर्थिक समस्या तथा दुर्घटना न्यूनीकरणमा सरकारका योजना र कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्न वाञ्छनीय देखिएकाले आवश्यक व्यवस्था वा निर्देशनका लागि मन्त्रीज्यूसमक्ष आग्रह गर्दछौं ।’
यो वर्षको मंसिरसम्म देशभर साना–ठूला गरेर करिब १० हजार सात सय ४५ वटा सवारी दुर्घटना भएको नेपाल प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको जनाउँदै रास्वपाले दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको समेत बताएको छ ।
‘ठूला दुर्घटनापिच्छे छानबिन समिति बन्छ । तर, त्यसका प्रतिवेदन कार्यान्वयनमा ल्याइदैंन । चालक या यान्त्रिक गडबडीलाई दोष दिएर नियामक निकाय उम्किने गलत प्रवृत्तिको निरन्तरता कहिलेसम्म कायम रहन्छ ?,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘चालक अनुमतिपत्र (लाइसेन्स) मा कडाइ, सुरक्षित सडक निर्माण र सवारीको यान्त्रिक परीक्षणलाई अनिवार्य गर्ने गरी नीतिगत सुधार किन गर्न सकिएको छैन ? सरकारले कहिलेसम्म गर्ने योजना बनाएको छ ? ।’
सडक सुधार परिषद् प्रभावकारी हुन नसकेको र परिषदमार्फत् सडक पूर्वाधार, सवारीसाधनको अवस्था, नियम–कानूनको पालना, उद्धार, सडक प्रयोगकर्ताको अनुशासनलगायत विषयलाई वैज्ञानिक ढंगले अध्ययन गरी कार्यान्वयन गर्नेतर्फ विलम्ब भइरहेकोमा पनि रास्वपाले प्रश्न गरेको छ ।
टिप्पणीहरू