कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा ‘संस्कृति उत्सव’
सुन्नुहोस्

कर्णालीमा ‘संस्कृतिको उत्सव’ सुरु भएको छ । खस भूमिमा लेखन र पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित आजदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उत्सव थालनी गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रदेश प्रमुख तिलक परियारले कर्णालीको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्नुभएको छ । उहाँले योगी नरहरीनाथको जन्म पनि यहाँ भएकोले थुप्रै पुस्तकको विकास भएको बताउनुभयो । 

‘उहाँले थुप्रै किताबहरु लेख्नुभएको छ, उहाँसँग मेरो पहिलो भेट ०३५ सालमा दिल्लीमा भएको थियो । त्यहाँ भएको पहिलो भेटमै म प्रभावित भएको थिएँ,’ प्रदेश प्रमुख परियारले भन्नुभयो, ‘उहाँ विद्धान, दूरदृष्टि राख्ने व्यक्ति हुनुहुन्थ्यो ।’

नरहरीनाथले नै लेखन र पठन संस्कृतिको सुरुवात गरी त्यतिबेला कर्णालीको इतिहास र अवस्थाबारे जानकारी गराएको उहाँको भनाइ छ । प्रदेश प्रमुख परियारले लेख्ने, पढ्ने, सोच्ने कुरालाई नयाँ तरिकाले विकास गर्ने कुरामा जोड दिएर अघि बढ्नुपर्ने समेत बताउनुभयो । 

कर्णाली रिडर्स सोसाइटीको आयोजनामा कर्णालीमा पहिलो पटक संस्कृतिको उत्सव सुरु भएको छ । यो कार्यक्रम कर्णालीको भाषा, साहित्य तथा संस्कृतिको विकास गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो । 

उत्सवमा योगी नरहरीनाथदेखि कर्णालीको इतिहासका विषयमा लेखिएका पुस्तक प्रर्दशनीमा राखिएको छ । कर्णालीका विषयमा लेखिएका करिब पाँच सय पुराना पुस्तकहरु संकलन गरिएको कार्यक्रमका संयोजक डाक्टर नवराज केसीले बताए । उत्सवमा देशभरका साहित्यकार, कवि, विद्धान लेखकहरुको उल्लेख्य उपस्थिति छ ।

टिप्पणीहरू