ठूलाबडाकाे करनी र कथनीमा आकाश जमिनको अन्तर
राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वले समाजमा भ्रातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले तीजका अवसरमा दिनुभएको शुभकामना सन्देशमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवम् सामाजिक कुरीतिको अन्त्य हुने र समतामूलक समाज निर्माणमा सबैलाई नयाँ उत्साह र जाँगर प्राप्त हुने विश्वास लिनुभएको छ ।
राष्ट्रपति पौडेलले तीज पर्वलाई मितव्ययी र सदाचारी बनाउनुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ । भनिएको छ, ‘यस पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने गरेको भड्किलोपन तथा खर्चिलोपनलाई न्यून गर्दै विकृति र विसङ्गतिलाई हटाउँदै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न आवश्यक छ ।’
तर तीजका लागि शीतल निवासमा मंगलबार अपरान्ह भव्य दर कार्यक्रम आयोजना गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व राष्ट्रपति, परराष्ट्रमन्त्रीदेखि राजनीतिक दलका नेतृ, उच्चपदस्थ कर्मचारी र आफन्तलाई बोलाएर राष्ट्रपति कार्यालयको आँगनमा लाखौं रुपैयाँको भोज आयोजना गर्नुभएको थियो ।
यता जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अघिल्लो बिहीबार सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ को हवाला दिँदै पर्व मनाउने नाममा अनावश्यक तडकभडक र फजुल खर्च नगर्न आग्रहपूर्ण अनुरोधसहितको सूचना जारी गरेको थियो । तर, राज्यको सबैभन्दा उपल्लो तहले राज्यका जिम्मेवारहरुलाई भेला गराएर मुलुकको कानुनको बर्खिलाप गराउँदा सूचना जारी गर्ने निकाय बेकम्मा साबित भएको छ ।
त्यसअघि प्रधानमन्त्री पत्नी राधिका शाक्यले शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दर कार्यक्रम राख्नुभएको थियो । त्यहाँ पनि सयौंको सहभागिता थियो । सोही दिन परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले आफ्नै निवास बूढानीलकण्ठमा राख्नुभएको भव्य दर कार्यक्रममा सयौं भेला भएका थिए ।
अघिल्लो साता एमाले पार्टी कार्यालय च्यासलमा त्यस्तै कार्यक्रम राखेर महिला नेतृ तथा कार्यकर्तालाई दर खुवाइएको थियो ।
टिप्पणीहरू