उर्लँदो भेलमा हेलिएर दुई जनाको ज्यान बचाउने चणिकलाललाई खुमलटारमा सम्मान

उर्लँदो भेलमा हेलिएर दुई जनाको ज्यान बचाउने चणिकलाललाई खुमलटारमा सम्मान

नख्खु खोलामा बगेका दुई जनाको उद्धार गर्ने काभ्रेका चणिकलाल तामाङलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ । 

पूर्वप्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटार बोलाएर उनलाई सम्मान गरेका हुन् । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए । 

टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गरेका थिए । दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । 

‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा धन्यवाद ज्ञापन गरे । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए ।

काभ्रेको तेमाल गाउँपालिका-९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट शहीद परिवारका सदस्य हुन् । उनका दाई तत्कालीन जनमुक्ति सेनाका कमाण्डर चन्द्र तामाङ ‘शुक्र’ जनयुद्धका क्रममा सर्लाहीमा मारिएका थिए ।

सो क्रममा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए। आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको प्रचण्डलाई उनले सुनाए ।

टिप्पणीहरू