अरु सबै सत्ता गठबन्धनबाट,कोषाध्यक्षमा माओवादीबाट
नेपाल पत्रकार महासंघको कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । सत्तारुढ नेपाली काङ्ग्रेस र एमालेनिकट प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार रामकृष्ण ज्ञवालीलाई हराउँदै प्रेस सेन्टरका उनले बाजी मारेका हुन् ।
अध्यक्षसहित अधिकांश पदाधिकारी भने युनियन र चौतारीबाट निर्वाचित भएका छन् । मत परिणामको अन्तिम घोषणा हुन बाँकी छ ।
महासंघको आगामी तीन वर्षे नयाँ नेतृत्व चयनका लागि शुक्रबार देशभर मतदान भएको थियो । निर्वाचनमा काँग्रेस निकट युनियन र एमाले सम्वद्ध प्रेस चौतारीबीच गठबन्धन हुँदा माओवादी केन्द्रको प्रेस सेन्टर र एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहितका पत्रकारहरु युनियनका बिद्रोही रमेश विष्टको नेतृत्वमा निर्वाचनमा होमिएका थिए ।
जिल्ला र प्रदेशमा मिश्रित परिणाम आउँदा केन्द्रमा भने कोषाध्यक्षबाहेक अधिकांश पदाधिकारी युनियन र चौतारी निकट निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अत्यधिक मतान्तरसहित अध्यक्षमा गठबन्धनका उम्मेदवार निर्मला शर्मा, वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य,महासचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।
टिप्पणीहरू