चिनियाँ मोबाइल,कोरियाली सेल्फी

चिनियाँ मोबाइल,कोरियाली सेल्फी

चीनको राजकीय भ्रमणका क्रममा दक्षिण कोरियाली राष्ट्रपति लि जे–म्युङले राष्ट्रपति सि जिनपिङबाट उपहारस्वरुप प्राप्त स्मार्टफोनबाट खिचेको सेल्फी सामाजिक सञ्जाल एक्समा भाइरल भएको छ । उक्त तस्बिर राष्ट्रपति लिले तत्काल आफ्नो एक्स पृष्ठमा राखेपछि विश्वभर चर्चामा आएको हो ।

राजधानी बेइजिङमा लिइएको सेल्फीमा राष्ट्रपति सि,राष्ट्रपति लि तथा दुवै देशका प्रथम महिला देखिएका छन् । तस्बिर पोस्टसँगै लेखिएको छ, ‘कोरियाको ग्येङ्जुमा राष्ट्रपति सि जिनपिङबाट उपहारस्वरुप पाएको साओमी मोबाइलबाट खिचिएको सेल्फी । जीवनकै यादगार तस्बिर खिच्न सफल भएँ ।’

उनले आगामी दिनमा अझ नियमित संवाद र सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । राष्ट्रपति लिको कार्यालयले सो क्षणको छोटो भिडियो युट्युबमा पनि सार्वजनिक गरेको छ, जसमा राष्ट्रपति सिले लिको फोटोग्राफी सीपको प्रशंसा गरेको देखिन्छ ।

उक्त साओमी स्मार्टफोन गत नोभेम्बरमा कोरियामा आयोजित एपेक शिखर सम्मेलनका क्रममा उपहार स्वरुप दिइएको थियो । निकै चर्चामा आएको उक्त उपहारबारे त्यसबेला राष्ट्रपति सि र लिले मोबाइलको विविध पक्षमा निकै रमाइलो कुराकानी गरेको खबर बाहिरिएको थियो ।

हिजो भएको करिब ९० मिनेटको द्विपक्षीय भेटमा राष्ट्रपति सिले विश्व झन् जटिल र अशान्त बन्दै गएको उल्लेख गर्दै दक्षिण कोरियालाई ‘सही रणनीतिक निर्णय’ लिन आह्वान गर्नुभएको छ । लिको चीन भ्रमण अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्रेर न्यूयोर्क पुर्याएको घटनापछि भएको हो । उक्त अमेरिकी कदमको चीन र उत्तर कोरियाले कडा शब्दमा विरोध गरेका छन्।

राष्ट्रपति लिको सेल्फी पोस्ट केही घण्टामै हजारौं सेयर भएको छ । गत जुनमा मार्शल ल घोषणा विवादपछि पदच्युत भएका पूर्वराष्ट्रपतिपछि सत्तामा आएका लि चीनसँग पहिले बिग्रिएको सम्बन्ध सुधार्ने प्रयास स्वरुप आइतबार चार दिने भ्रमणका लागि बेइजिङ पुगेका हुन् । 

स्रोत : बैंकक पोष्ट ।

टिप्पणीहरू