५३ लाख काण्डमा मन्त्रालयतिर तानियो

५३ लाख काण्डमा मन्त्रालयतिर तानियो

 नुवाकोटको पञ्चकन्या गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई मन्त्रालयमा तानिएको छ । सामाजिक सुरक्षा भत्ता वितरणका लागि सदरमुकाममा रहेको हिमालयन बैंकबाट वडा कार्यालयका सचिव सरिता रावतसहितका ३ जना कर्मचारीले झिकेर लगेको ५० लाख र वडा कार्यलयमै भएको तीन लाख समेत गरी ५३ लाख मात्र गायब बनाइएन,कार्यालयको सीसी क्यामेरा समेत गायब बनाइएको प्रकरणमा सो गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतलाई सिंहदरबारमा तानिएको हो ।

गत चैत्रमै खाताबाट निकालेर गायब गरिएको सो प्रकरण झण्डै दुई महिनासम्म गुपचुप राखिएको थियो । नुवाकोट जिल्ला अदालतले वडा सचिव रावतलाई ३ लाख र अन्य २ कर्मचारीलाई जनही ५ लाख रुपैयाँ धरौटीमा छाडेपछि यो प्रकरण सिंहदरबारसम्म आइपुग्यो ।पछि यो प्रकरण अदलात,सिआइबी हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्म पुग्यो । मन्त्रालयले यो बिषयमा पुडासैनीसँग स्पष्टीकरण माग्यो । बैंकिङ प्रणालीमा नगई,मापदण्ड विपरित सामाजिक सुरक्षा भत्ता निकालिएको र गोलमाल गरिएको बिषयमा चित्तबुझ्दो जवाफ पेश गर्न नसकेपछि अनुसन्धानको सुँई उनै प्रमुख प्रशासकीय अधिकृततिर सोझिएको हो । स्पष्टीकरण सोध्दा पुडासैनीले चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न सकेनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो बिषय छानबिन गर्न दुई सदस्यीय छानबिन समित बनायो । छानबिन समितिमा आर्थिक प्रशासन शाखाका लेखा अधिकृत उमेशश्वर काफ्ले र संघीय मामिला शाखाका महेश्वर दाहाल छन् । उनीहरु दुबै जना घटनाको सत्यतथ्य बुझ्न सोमबार नुवाकोट पुगेर र काठमाडौं फर्किए ।

मन्त्रालयले गठन गरेको छानविन समिति पञ्चकन्या पुगेर स्थलगत अध्यययन गरेर फर्किएलगत्रै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मन्त्रालयमा सरुवा गरेको हो । उनलाई अतिरिक्त समूहमा राखेर काम बिहीन बनाइएको छ ।

टिप्पणीहरू