कार्यकर्ता रत्नपार्कमा, विप्लव म्याग्दीमा
नेकपा माओवादी विप्लवका महासचिव नेत्रविक्रम चन्द हिजो साँझ म्याग्दी पुग्नुभएको छ । मोटर चढेर म्याग्दी पुगेका चन्द आज सदरमुकाममा हुने मगर मुक्ति मोर्चाको कार्यक्रममा सहभागी हुन लाग्नुभएको हो ।
मोर्चाको चौथो राष्ट्रिय सम्मेलनमा भाग लिन महासचिव म्याग्दी जानुभएको बताइएको छ । आज सदरमुकामको खुल्ला मञ्चमा मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन हुँदैछ । हिजो बेलुकी उहाँ बेनी नगरपालिका २ ज्यामरुङकोटस्थित पार्टीका जिल्ला इञ्चार्ज ध्रुव घिमिरेको घरमा बास बस्नुभएको हो ।
यता हिजो साँझ विप्लव कार्यकर्ताले काठमाडौंको शान्तिवाटिकामा दीप प्रज्वलन गरेका छन् । उनीहरुले काठमाडौं महानगर समितिको आयोजनामा आठौं पार्टी पुनर्गठन दिवस मनाउने क्रममा दीप प्रज्वलन गरेका हुन् ।
पार्टी केन्द्रीय सदस्य खुमा सुवेदीले नेतृत्व गरेको कार्यक्रममा सहभागीहरुले नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद,आस्थाका बन्दीलाई रिहा गर,तीन बुँदे सहमति कार्यान्वयन गर,एमसीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्यबृध्दि खारेज गरलगायत नारा लगाएका थिए ।
टिप्पणीहरू