देशमा जासुसीको झन् ठूलो दबदबा

देशमा जासुसीको झन् ठूलो दबदबा

देशभरका सबैखाले संवेदनशील समाचार र सूचना बेलैमा संकलन गर्न प्रधानमन्त्रीको सोझै मातहत राष्ट्रिय अनुसन्धान विभाग खडा छ । अरु तीनथरी बर्दीधारी सुरक्षा निकायले पनि आफ्नै च्यानलबाट दैनिक सुराक बटुलिरहेकै छन् ।

नेपाली सेनाभित्रबाट इन्टेलिजेन्स अर्थात् गुप्तचरी हेर्ने युनिट डिएमआइलाई स्तरोन्नति गरेर महानिर्देशनालय बनाइएको धेरै भएको छैन । भक्तपुर नलिञ्चोकका दुई तारे जर्नेल प्रदीप केसी अहिले डिजिएमआईको प्रमुख छन् ।

जासुसी मामिला नै हेर्न यौटा छुट्टै बाहिनी, तालिम केन्द्र र सुर्खेत (मकर), पोखरा (पुष्पक), काठमाडौँ (चक्रेश्वर)मा ३ वटा बटालियन छन् । त्यतिले नपुगेर सहायक रथी सुनील श्रेष्ठको नेतृत्वमा ४ वटै कमाण्डमा युनिट रहने गरी प्रधानसेनापति मातहत एउटा छुट्टै सेल (डिएसआइ–सुरक्षा सूचना निर्देशनालय) खडा गरिएको छ । वैशाखमा नयाँ चिराग गण बन्दैछ ।

अहिले सेनाभित्र यतिधेरै जासुसी सञ्जाल खडा गरिनु आवश्यक वा उपयुक्त हो वा होइन भनेर राजनीतिक तहमा अनौपचारिक छलफल भइरहेको बताइन्छ ।

डिएमआई भन्नासाथ सबका कान ठाडा हुने तर चरक वाहिनीको नामले परिचय दिँदा खासै ध्यान नजाने भएपछि गुप्तचरीलाई अनेक नाम दिएर सबल बनाउन लागिएको सुन्नमा आएको छ । खुला सिमाना, शक्ति राष्ट्रहरूको प्रत्यक्ष चलखेल र अपराधका नयाँ आयाम बढ्दो गतिमा रहेकाले विदेशी गतिविधिमाथि तिखो नजर राख्न पनि प्रतिजासुसी (काउण्टर इन्टेलिजेन्स) आवश्यक भएको बताउने गरिएको छ ।

यसैबीच, सेनाको नेतृत्वमा माओवादी द्वन्द्वताकाझैं एउटा छुट्टै जासुसी संयन्त्र बनाउन लबिइङ शुरु भएको बुझिएको छ । उसो त यस्तो संयन्त्र संवैधानिक व्यवस्थाअन्तर्गत सुरक्षा परिषद्मै छ भने गृहमन्त्री मातहत सेनाका लेफ्टिनेन्ट जनरल र तीनैथरी अरु सुरक्षा अंगका प्रमुखसहित अपरेशन र काठमाडौँ उपत्यका हेर्ने एआइजीहरूलाई समेत त्यसको बैठकमा बोलाउने गरिन्छ ।

७७ वटै जिल्ला तहमा समेत सिडिओमातहत सेनाका गण र गुल्मपतिको सहभागितामा सुरक्षा समिति गठन गरिएको छ । यस्ता यावत संयन्त्र हुँदाहुँदै चुनावको मुखमा बजेट र दरवन्दी तान्न अर्को छुट्टै संयन्त्र बनाउन किन आवश्यक प¥यो बुझ्न सकिएको छैन ।

मेकानिज्महरूलाई सबलिकरण नगरी फौज प्रमुख फेरिएपिच्छे भटाभट नयाँ नयाँ अभ्यास गर्दै जाने र सत्ताधारीहरू हरेक बेलुका ४ वटा सुरक्षा अंगका छुट्टाछुट्टै गुप्तचरी जाहेरी पढ्न पाउँदा के के न भेटेझैँ दंग पर्ने परिपाटीले जासुसीजस्तो संवेदनशील विषय थप गिजोलिएको भन्नेहरू बुध्दिजीवी सर्कलमा धेरै छन् ।

टिप्पणीहरू