कृष्णनगर नाकामा डिएसपीले नै बाख्रा,भैंसी छाड्नु भनेपछि…
अघिल्लो शुक्रवार राति २ बजे कृष्णनगर भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलको मोबाइलमा तारन्तार नयाँ नम्बरबाट घण्टी बज्यो । फोन उठाउनेबित्तिकै उनलाई दुई फरक ठाउँबाट खसी बोका तथा राँगा नेपाल भित्र्याउन लागिएको सूचना दिइयो । उनले तत्काल सशस्त्र प्रहरी बललाई लिएर दुबै स्थानमा छापा हाने । नेपाल–भारत सीमाना कटाएर यता ल्याउँदै गरिएका ७० वटा खसी बोका र ८१ वटा राँगा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइयो ।
तर,प्रहरीको विशेष स्रोतले उक्त राँगा र खसीबोका प्रहरीले पक्राउ गर्नुपर्नेमा भन्सारले समातेको बताएको छ । स्रोतका अनुसार त्यही सूचना राति १ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका निरीक्षक शैलेन्द्र पाण्डेलाई पनि दिइएको थियो । पाण्डेले पनि तत्काल यसबारे जिल्लाका निमित्त प्रहरी प्रमुख डिएसपी जेशी साहलाई जानकारी गराए । तर साहले फोनमा ‘यस्ता हल्लाको पछि नलाग्न र छाडिदिन’ भनेको स्रोतको दाबी छ ।
तत्कालीन प्रहरी प्रमुख उपरीक्षक दानबहादुर कार्की एसएसपीमा बढुवा भई काठमाण्डौ गएपछि निमित्त रहेका डिएसपी साहले तस्करीको लाइन खुलाउन थालेको आरोप छ । डिएसपी साहको राँगा तस्करी गर्ने कृष्णनगर क्षेत्रका मुसेमणि त्रिपाठी,खसीबोकाको काम गर्ने राजकुमार श्रेष्ठ र गोपालसँग नाभी जोडिएको बताइन्छ ।
साहले यसअघि पनि कपिलवस्तुमा प्रहरी निरीक्षक भई बसेको बखत राम्रै आर्जन गरेको स्थानीय बताउँछन् । त्यसबेला उनले बुटवल क्लब डेनोभोको किनारमा करिब १ करोड मूल्य पर्ने घरजग्गा जोडेका थिए । कृष्णनगर ६,बनचौरा सीमाबाट ल्याउँदै गरिएका खसीबोका राजकुमार श्रेष्ठ र कृष्णनगर १ बगहीबाट ल्याउँदै गरिएको राँगा मुसेको थियो । उनीहरुले भारतको अवैध बाटोबाट ल्याउने पशुलाई नेपाली हाटबजारमा चौपाया खरिद बिक्री कागज बनाउने र भेटनरीको छाप लगाई काठमाडौं पठाउने गर्दै आएको बताइन्छ ।
पक्राउ परेका खसी नौ लाख ८४ हजारमा लिलाम बिक्री भएको छ भने राँगा भोलि लिलाम हुने भन्सार कार्यालय कृष्णनगरले जनाएको छ । पछिल्लो एक सातादेखि जिल्लाका सीमावर्ती क्षेत्रमा तस्करी गिरोह सक्रिय बनेको छ । तीज तथा चाडबाड लक्षित गरी कपडा,राँगा, खसीबोका,चिनी, खाद्यान्नलगायत सामाग्रीको तस्करी थालिएको हो । हथिहवा दोहनी,चाकरचौडा, मर्यादपुर,रंगपुर,हरदौना, भिल्मी,सिर्सिहवा, कृष्णनगर, ठकुरापुरलगायत नाकाबाट तस्करी सञ्जाल एकाएक सक्रिय बनेको पाइएको छ ।
टिप्पणीहरू