राजदूत दुबसुको अर्को कर्म : आफैंद्वारा आफ्नानिम्ति स्वागत कार्यक्रम

राजदूत दुबसुको अर्को कर्म : आफैंद्वारा आफ्नानिम्ति स्वागत कार्यक्रम

परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल तथा जापानका लागि राजदूत नियुक्त डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) ले फेरि अर्को हर्कत गरेका छन् । उनले दोश्रो चोटी राजदूत नियुक्ति सङ्गै बीपी कोइराला जयन्तीको अवसर पारेर आज स्वागत समारोह तथा रात्रिभोजको आयोजना गरेका हुन् । साँझको उक्त कार्यक्रम सुवेदी र श्रीमती पुनमले आयोजना गरेका थिए ।

कार्यक्रम बानेश्वर, थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा साँझ साढे ५ बजेदेखि भएको हो । बेलायतका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्केलगत्तै परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापालको जिम्मेवारी पाएका उनै सुवेदीले अशिष्ट व्यवहारको अनुपम नमूना देखाउँदै अघिल्लो महिना दरबारमार्गमा जाँड पार्टीको आयोजना गरेका थिए ।

सरकारी हैसियतमा रहेका उनै सुवेदीले मुलुकको निशान छाप, पदीय हैसियत, अफिसको टेलिफोन र इमेल दुरुपयोग गरेर जाँड पार्टीको आयोजना गरेका हुन् । निम्तो कार्डमा परराष्ट्र मन्त्रालयको समग्र हैसियत राखिएको थियो ।

उनी विदेश पोस्टिङ्गको छोटो अन्तरालमै जापानको लागि राजदूत नियुक्त हुनै लागेका थोरै भाग्यमानीमध्येमा परेका हुन् । त्यसैले साउन महिनामा पनि उनले आफैँले आफ्नो स्वागतमा भोजको आयोजना गरेको बताइन्छ ।

अरु वरिष्ठ कर्मचारीलाई लत्याएर देउवा सरकारले काँग्रेसको कोटामा उनलाई सबैभन्दा बढी तलब पाइने जापानको निम्ति राजदूत बनाएको हो । मन्त्रालयका शिष्टाचार महापालले देशी विदेशी कूटनीतिज्ञलाई शिष्टाचार सिकाउनुपर्छ ।

गत जेठ २७ गते शुक्रबारको जाँड कार्यक्रममा ९९ प्रतिशत नेपाली काँग्रेस निकटहरुलाई बोलाइएको थियो । एकाध विदेशी पनि त्यहाँ पुगेका थिए ।

शिष्टाचार महापालको आवरणभित्र रचिएका पछिल्ला योजनालाई उनका हर्कतले उदाङ्गो पारिदिएको छ ।

टिप्पणीहरू