बालकोटमा प्रचण्ड प्रधानमन्त्री बन्ने सहमतिलगत्तै भारतीय राजदूत नयाँ दिल्ली प्रस्थान
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आज स्वदेश जानुभएको छ । उहाँ केही बेरअघि काठमाडौंबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । अपरान्ह ५ बजे भिस्तारा एअरको उडान नम्बर युके १५६ बाट उहाँ नयाँ दिल्ली जानुभएको दूतावास स्रोतले पुष्टि गरेको छ । आजै दिउँसो बालकोटमा एमालेलगायत अन्य पाँच दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री दावी गर्ने सहमति भएको छ ।
चुनावदेखि नै प्रधानमन्त्री र राष्ट्रपतिमा चुनिने व्यक्ति र दलको बारेमा भारतीय दूतावासले विशेष चासो राख्दै आएको थियो । नेपाली काँग्रेसले पनि सोहीबमोजिम उक्त पदमा आफूले सम्झौता गर्न नसक्ने अडान राखेपछि आज बालकोटमा नयाँ सहमति भएको हो ।
काठमाडौंमा आज दिउँसो उत्पन्न नयाँ राजनीतिक परिस्थितिसँगै राजदूत श्रीवास्तवको स्वदेश प्रस्थानलाई राजनीतिक वृत्तमा छुट्टै अर्थ लगाइएको छ । उहाँसँगै आज श्रीमती पुन्वा सलिला श्रीवास्तव, छोरी सुरम्भा श्रीवास्तव,पिता रविन्द्रलाल श्रीवास्तव र ससुरा गिरीशचन्द्र श्रीवास्तव पनि नयाँ दिल्ली गएका छन् ।
परिवारका ती सदस्य दुई साताअघि बिदा मनाउन नेपाल आएका थिए । उनीहरुलाई लिएर राजदूत स्वयम् पोखरा जानुभएको थियो ।
टिप्पणीहरू