मध्यराति जब भिआईपीले बबाल मच्चाए

मध्यराति जब भिआईपीले बबाल मच्चाए

सरकारी सुविधाको ब्याट्रीवाला महँगो बिवाईडी गाडीले मध्यरात राजधानीमा बितण्डा मच्चायो, भूपू एआइजीको गाडीलाई हिर्काएर भाग्यो । घटनामा संलग्न उपराष्ट्रपतिका सल्लाहकारदेखि छुटाउन जाने मुस्लिम आयोगका अध्यक्षसम्म प्रहरीसँग मुखमुखै लागेपछि महाराजगञ्ज प्रहरी बृत्तको हालत हेर्न लायकको बन्यो ।

उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) को राज्यमन्त्री स्तरका सल्लाहकार जीवन गुरुङ ६ गतेको साँझ ‘गुड फ्राइडे’ मनाउन निस्किएका थिए तर बास भयो, महाराजगञ्ज प्रहरी बृत्तमा । गोरखाका मीनबहादुर घले, सुकेधाराका सुजन अर्याल र चालकसहित निस्किएका गुरुङले मध्यराति उपराष्ट्रपतिको नाम लिँदै सिपाहीदेखि डिएसपीसम्मलाई तर्साउन भ्याए । त्यतिले नपुगेर एमाले अध्यक्ष केपी ओलीका विश्वासपात्र मानिने मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीसमेत पुगेर आइजिपीको फोन ‘ह्याण्डस् फ्रि’ गर्दैै जीवनलाई अहिल्यै छाड् भनेर प्रहरीहरुसँग उफ्रिन थाले । 

नयाँ बसपार्कस्थित बिजी मलदेखि महाराजगञ्जतर्फ जाने क्रममा उपराष्ट्रपतिका सल्लाहकार सवार बागमती प्रदेश ०१ ०२६ च ८८४३ नम्बरको सेतो कारले बाटाका डिभाइडरदेखि सशस्त्रका अवकाशप्राप्त एआइजी जीतबहादुर पुनको बा २७ च ४१९८ नम्बरको हाइलक्स गाडीलाई ठक्कर दिएपछि बल्ल महाराजगञ्जस्थित ट्राफिक प्रहरीकहाँ खबर पुग्यो । प्रहरीले उनीहरुलाई लखेटी लखेटी नियन्त्रणमा लिँदा गाडीमा सवार सबैले मापसे गरेको पाइएको थियो । प्रहरीको फन्दामा पर्नासाथ जीवनले समिमलाई फोन गरेर बोलाए । समिमचाहिँ रातभरि धर्ना दिएर त्यहीँ बसे । भोलिपल्ट दिउँसो पूर्वएआइजीको गाडी उपराष्ट्रपतिका सल्लाहकारले मर्मत गरिदिने सहमति भएपछि समिमको जिम्मामा सबैलाई छाडियो । यसखाले धन्दामा संलग्नहरुलाई छुटाउँदै आइजीपीलाई धम्काएर हिँड्नु समिमको धन्दा हुने गरेको अनेकौं प्रमाण पछिल्ला दिनमा बग्रेल्ती फेला पर्न थालेका छन् । 

झमेलामा पासाङ

रक्सी पिउने सल्लाहकार, रातभर बवण्डर मच्चाउने पनि उनै, तर दशथरिका मान्छेले सोधखोज गर्दै, चर्चा–परिचर्चा गर्दाको झमेला खेप्नेचाहिँ उपराष्ट्रपति पासाङ ! सात वर्षमा दुई कार्यकाल सिध्याउँदासम्म कुनै विवादमा नपरेका उनका निम्ति कार्यकाल सिध्याएर घर फिर्ता हुने मुखैमा यस्तो हुँदा नमज्जा भएको छ । एक महिनापछि उनी चन्द्रागिरी नगरपालिकाको दहचोकस्थित कालु पाँडे समाधीस्थलको छेउमा निर्मित घरमा सर्दैछन् । मानिसहरुले त्यही घरको विषयलाई लिएर पनि नानाभाँती कुरा गर्दा उनलाई दिक्क लागेको छ । ०७२ को भूकम्पका बेला कपनटार हाइटमा बस्थे । भूकम्पले भत्कायो । त्यसपछि त्यहीँ टहरो बनाएर बसे । अलिक पछि एउटा सहकारीबाट ऋण लिएर आनाको दुई लाखका दरले बूढानीलकण्ठस्थित भंगालमा जग्गा किने ।

त्यहीँ नजिकै वर्तमान राष्ट्रपति विद्या भण्डारीको निजी घर बनेपछि उक्त ठाउँको आकर्षण यसरी बढ्यो कि उपराष्ट्रपतिले दुई लाख प्रतिआनाका दरले किनेको जग्गाको मूल्य आकाशिएर प्रतिआना १७ लाख पुग्यो । घर बनाउने भन्दाभन्दै ०७२ मा उनी उपराष्ट्रपति निर्वाचित भए, सरकारी निवासमा बास भयो । पछि छोराहरुले उक्त जमिन प्रतिआना १७ लाखका दरमा बिक्रि गरे । त्यो पैसाबाट कालु पाँडे समाधी नजिकको जमिन साढे दुई लाख रुपैयाँ प्रतिआनाका दरले किनेका थिए । त्यहीँ अहिले अत्याधुनिक घर बनेको छ । चर्चा छ– अरु आम्दानी केही नभएका उनले त्यत्रो घर कसरी बनाए ? उनका एकजना सहयोगीले यसको हिसाब सुनाएका छन् । उपराष्ट्रपतिको तलबमात्रै महिनामा एक लाख २० हजार हुन्छ । अतिथि खर्चसहितका सबै हिसाब जोड्दा महिनामा २ लाख जोगिन्छ । तर, खर्च केही पनि हुँदैन । यसरी वर्षमा ३६ लाख रुपैयाँ बचत हुँदा सात वर्षमा दुई करोड ५२ लाख जम्मा भएको छ । 

बिग्रँदो सम्बन्ध 

राष्ट्रपति विद्या भण्डारीसँगको उनको सम्बन्ध पहिला सुमधुर, पछि–पछि तिक्ततापूर्ण रहँदै आएको छ । शुरु कार्यकालदेखि पार्टी एकताकालसम्म कहिले विद्या लैनचौरमा खाना खान पुग्ने, कहिले पासाङ शीतल निवास पुग्ने गर्थे । तर, ०७७ को संसद विघटनपछि सम्बन्ध बिग्रँदै गयो । पासाङले संसद विघटनलाई राष्ट्रपतिले सदर गर्नुलाई ‘गलत’ भनी सार्वजनिक अभिव्यक्ति नै दिए । त्यसपछि पोखरामा सम्पन्न पत्रकार महासंघको साधारणसभामा पनि त्यही कुरा दोहो¥याए । नागरिकता अध्यादेश रोकेकोमा समेत उनको घोर आपत्ति रह्यो । 

 

टिप्पणीहरू