बनारसबाट छुटेको बिलासी पानीजहाज आसामको डिब्रुगढमा

बनारसबाट छुटेको बिलासी पानीजहाज आसामको डिब्रुगढमा

विश्वको सबैभन्दा लामो रिभर क्रुज ‘एमभी गंगा विलास’ भारतको आसामस्थित डिब्रुगढ पुगेको छ । ५१ दिनमा तीन हजार दुई सय किलोमिटर यात्रा गरेर उक्त पानीजहाज हिजो त्यहाँ पुगेको बताइएको छ ।  

एमबी गंगा विलास भारत र बंगलादेश हुँदै पुनः भारतको विश्वनाथ पुगेको हो । यसले नदी क्रुजको नक्सामा विश्वव्यापी स्थान पाएको छ । वाराणसीबाट जनवरी १३ मा यात्रा शुरु गरेको उक्त पानी जहाजलाई भारत सरकारले धुमधामका साथ विभिन्न स्थानमा स्वागत गरेको थियो । 

भारतको ढुवानी र जलमार्ग मन्त्रालयको नेतृत्वमा आन्तरिक जलमार्ग प्राधिकरणले पछिल्लो पटक डिब्रुगढको बोगीबिल ब्रिजमा स्वागत समारोहको आयोजना गर्यो । केन्द्रीय बन्दरगाह, जहाज र जलमार्गमन्त्री सर्वानन्द सोनोवालका साथै अन्य केन्द्रीय, राज्य मन्त्री, कुटनीतिज्ञहरु समारोहमा उपस्थित थिए । 

३६ जना यात्रु अटाउन सक्ने जहाजमा तीनवटा डेक र १८ वटा कोठा छन् । यसलाई विशिष्ट तरिकाले निर्माण गरिएको छ । पटनासाहिब, बोधगया, विक्रमशिला, ढाका, सुन्दरवन र काजिरंगा राष्ट्रिय निकुञ्ज हुँदै डिब्रुगढ पुगेको जहाजले यात्रा र व्यापारको नयाँ मार्ग सिर्जना गर्ने आकलन गरिएको छ । 

यसले बंगलादेश र भारतको कला, संस्कृति र इतिहासलाई पर्यटनमार्फत् नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । आन्तरिक जलमार्गबाट सामान ढुवानीका लागि यसले नयाँ युगको शुरुवात गरेको मन्त्री सोनोवालले हिजो बताए । त्यस्तै, जल यातायात पूर्वाधारको विकासमा यसको निकै महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

यसअघि पुस २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै लामो नदी क्रुजको शुभारम्भ गरेका थिए । मोदीले बिदाई गरेका उक्त पानी जहाज वाराणसीबाट यात्रा थालेर बंगलादेश हुँदै आसामस्थित डिब्रुगढ पुगेको हो । 

जहाजले भारत र बंगलादेशका २७ वटा नदी प्रणाली पार गरेको छ । पहिलो यात्रामा स्विट्जरल्याण्डका ३२ जना पर्यटक सहभागी छन् । ५१ दिनको यात्रामा पर्यटकले ५० वटा पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् । त्यसमा विश्व सम्पदा सूची, राष्ट्रिय निकुञ्ज,नदीका घाटहरु, पटना, साहिबगञ्ज, कोलकाता, ढाका र गुहाटीलगायत शहरको पनि भ्रमण गराइएको थियो ।

टिप्पणीहरू