इन्टरनेट र मोबाइलका ग्राहकले क्षतिपूर्ति पाउलान् ?
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा मोबाइल नेटवर्कमा समस्या आए सेवा प्रदायक कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ । हालै पारित दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावलीको एघारौँ बुँदामा यस्तो व्यवस्था राखिएको हो ।
तोकिएभन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा सम्बन्धित ग्राहकले आफूलाई परेको असुविधावापत सेवा प्रदायकबाट क्षतिपूर्ति मागदाबी गरेमा सम्बन्धित सेवा प्रदायकले दूरसञ्चार सेवाशुल्क वापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने विनियमावलीमा उल्लेख छ । तर, सेवा प्रदायकको काबु बाहिरको परिस्थितिमा यस उपविनियम (१) बमोजिमको प्रावधान लागू नहुने व्यवस्था छ ।
त्यस्तै, ग्राहकले मोबाइल डाटा, भ्वाइस प्याकेज सेवा खरिद गरेको तर उक्त प्याकेजको अवधिमा नेटवर्क डाउन भई सेवा प्राप्त गर्न नसकेको अवस्थामा उपभोक्ताले सम्बन्धित सेवा प्रदायकबाट क्षतिपूर्ति दाबी गर्न सक्ने छन् । फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको हकमा तोकिएको भन्दा बढी समय नेटवर्क नचलेर सेवा प्रदान गर्न नसकेको अवस्थामा ग्राहकलाई परेको असुविधा वापत क्षतिपूर्तिस्वरुप मुनासिब महशुलमा दामासाहीले मिनाहा गर्ने वा सोहीबमोजिम सेवाको अवधि निःशुल्क थप गरी सम्बन्धित ग्राहकलाई जानकारी समेत गराउनुपर्ने विनियमावलीमा उल्लेख छ ।
यो व्यवस्था आगामी बैशाख १ गतेदेखि लागू हुने जनाइएको छ ।
इन्टरनेट र मोबाइलका ग्राहकले क्षतिपूर्ति पाउलान् ?त्यसैगरी, इन्टरनेट डाउनलोड तथा अपलोड हुनेदर ८० प्रतिशतभन्दा बढी हुनुपर्ने पनि विनियामावलीमा व्यवस्था गरिएको छ । अबदेखि फोरजी सेवा प्रयोगकर्ताको डाउनलोड १५ एमबीपीएस, अपलोड ७.५ एमबीपीएस, थ्रिजी प्रयोगकर्ताको डाउनलोड ३ एमबीपीएस र अपलोड १.५ एमबीपीएस हुनुपर्नेछ ।
प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नयाँ विनियमावली जारी गरेसँगै यसअघिको विनियमावली २०७३ खारेज भएको जानकारी गराइएको छ ।
टिप्पणीहरू