रुकुममा क्रान्तिकारीको बर्चस्व

रुकुममा क्रान्तिकारीको बर्चस्व

रुकुम पश्चिममा रहेका त्रिभुुवन विश्विद्यालय मातहतका सात वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को नयाँ नेतृत्व चयन भएको छ । अस्ति जिल्लाका तीन वटा क्याम्पसमा भएको निर्वाचनको नतिजासँगै सबै क्याम्पसमा स्ववियुले नयाँ नेतृत्व पाएको छ ।

जिल्लाको रुकुमेली क्याम्पस मुसीकोट, जहारी क्याम्पस खोलागाउँ र राडीजिउला शिक्षा क्याम्पस आठबिसकोटमा मतदान भएको थियो । मत परिणामअनुसार छ वटा क्याम्पसमा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) को नेतृत्वमा कमिटी चयन भएको छ । एउटा क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको नेतृत्व विजयी भएको छ । 

रुकुमेली क्याम्पस स्ववियु निर्वाचन अधिकृत शिवराम खत्रीका अनुसार उक्त क्याम्पसमा नेविसंघका अनिशेष केसीको टिम विजयी भएको हो । सचिवमा सन्तोष खड्का र कोषाध्यक्षमा शिव खड्का निर्वाचित भएका छन् । सो क्याम्पसमा नेविसंघ, अनेरास्ववियू समाजवादी, अखिल क्रान्तिकारी र स्वतन्त्र उम्मेदवारहरुबीच चुनाव भएको थियो । 

राडीजिउला शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीको टिम विजयी भएको छ । दिपक केसीको टिमले नेकपा निकट अखिल क्रान्तिकारीका हरि पुनको नेतृत्वमा रहेको संयुक्त प्यानललाई पराजित गरेको हो । मत परिणामअनुसार सचिवमा निराजन ऐरी, कोषाध्यक्षमा रमा महतारा निर्वाचित भएका छन् । यहाँ माओवादी निकट अखिल (क्रान्तिकारी) विरुद्ध नेकपा निकट अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियू समाजवादीको गठबन्धन थियो । 

त्यसैगरी जहारी क्याम्पस खोलागाउँमा पनि अखिल (क्रान्तिकारी) को प्यानल विजयी भएको छ । भरत बिकको नेतृत्वको टोलीले नेविसंघ र अनेरास्ववियुको गडठबन्धनलाई हराएको हो । उक्त क्याम्पसको स्ववियु सचिवमा महेश ओली र कोषाध्यक्षमा अनुशा रोका निर्वाचित भएका छन् ।

त्रिविअन्तर्गतका कुल सात क्याम्पसमध्ये अन्य चार वटामा भने यसअघि नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । सर्वसम्मत सहमति भएका सबै क्याम्पसमा अखिल (क्रान्तिकारी) ले अध्यक्षसहित पदाधिकारी र अधिकांश सदस्य पाएको हो । 

तीमध्ये शितल क्याम्पस चौरजहारीको अध्यक्षमा निराजन केसी, स्यार्पू बहुमुखी क्याम्पस बाँफिकोटको अध्यक्षमा किरण विश्वकर्मा, सिम्रुतु क्याम्पस त्रिवेणीको अध्यक्षमा निर्मला बुढाथोकी, सानीभेरी शिक्षा क्याम्पस सानीभेरीको अध्यक्षमा विरभान भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत जिल्लामा रहेको एकमात्र मुसिकोट खलङगा बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचन तत्कालका लागि स्थगित भएको छ । उच्च अदालत सुर्खेतमा दायर भएको मुद्दाका कारण निर्वाचन रोकिएको हो ।

टिप्पणीहरू