यसर्थ छाड्ने छैनन् सत्ता यिनले

यसर्थ छाड्ने छैनन् सत्ता यिनले

अहिलेको संसदमा पुगेका केही राजनीतिक दलको अवस्था कस्तो छ भने, ‘बिनासत्ता, सब चिज बेपत्ता !’ यसैमध्येका हुन्, रवि लामिछाने र उपेन्द्र यादवसहितका मधेसकेन्द्रित दलहरू । उपेन्द्र यादवले कुनै हालतमा पनि अहिलेको गठबन्धन किन छोड्दैनन् भने, छोड्दा सांसद चोरिने, पार्टी फुट्नेदेखि आफ्नै राजनीति जोखिममा पर्ने खतरा छ । गठबन्धनबाट लिनुपर्ने एउटा फाइदा मुखैमा छ । त्यो हो, उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएपछि रिक्त उनको निर्वाचन क्षेत्र बारा– २ । उपेन्द्रले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा त्यहाँबाट जितेर आउने चाहना राखेका छन् । त्यसका लागि पनि सत्तारुढ गठबन्धनमा रहनु जरुरी छ ।

रामसहायको क्षेत्रमा एमाले प्रमुख शक्ति होइन तर त्यहाँका बलिया प्रत्यासी हुन्, रामकुमार यादव । उनले मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुँदा एक्लैले एघार हजार मत ल्याएका थिए । अहिले पनि उपेन्द्रलाई छोड्ने पक्षमा नभएकै कारण चैत ३ गते उपराष्ट्रपतिको चुनाव भइरहँदा उपेन्द्र उनलाई पार्टी अफिसमा राखेर फकाउँदै थिए । जयप्रकाश गुप्ताले गणतान्त्रिक फोरम बनाउँदा रामकुमार केन्द्रीय सदस्य थिए । त्यसपछि कुनै दलमा रहेनन् तर चुनावमा भने भाग लिइरहे । वैशाख १० मा पनि उपेन्द्र र उनीबीच प्रतिस्पर्धा हुने सम्भावना उत्तिकै छ ।

रामकुमार उठ्दा उनले अप्ठेरो नपार्नका लागि उपेन्द्रसँग ‘यादव’ कै मुद्दा हुने अवस्था छ । किनभने, त्यो क्षेत्रमा यादव समुदायको बाहुल्य छ । उपेन्द्रले भन्नेछन्, ‘एउटा यादवलाई देशको सर्वोच्च पद (उपराष्ट्रपति) मा पुर्‍याएँ । अर्को यादव (सरोज) लाई मुख्यमन्त्री बनाएँ । चुनाव जितेपछि म देशको राजनीतिमा ‘की प्लेयर’ हुन्छु । त्यसको फाइदा यहीँका जनतालाई हुने हो †’ अर्थात्, जातीय गौरवको विषय बनाउँदै उनी चुनावी मोर्चामा सामेल हुँदैछन् ।

उनको प्रयास छ, त्यहाँबाट माओवादी र कांग्रेसको उम्मेदवार उठ्न नदिने । त्यो स्थितिमा रामकुमार उठ्दा कांग्रेस र माओवादीका उम्मेदवार भएनन् भने प्रतिस्पर्धीविहीन जस्तै अवस्था हुन्छ । त्यो सम्भावना छ पनि । किनभने, माओवादी र कांग्रेसले सिके राउतको जनमत पार्टी, लोसपा, उन्मुक्ति, उपेन्द्रहरूको तुलनामा उपेन्द्रलाई नै विश्वास गरेका छन् । यसप्रकार जसरी पनि सांसद भएर आउनै पर्ने बाध्यता हो, सरकार । मन्त्रीहरू पठाउने काममा उनी आफू सांसद नहुँदा पार्टीभित्र विवाद हुन्छ ।

पुस १० पछि केपी ओलीसहितको सरकारमा नजानुको कारण पनि यही हो किनभने प्रदीप यादव, अशोक राईहरूले उपेन्द्र नहुँदा तँभन्दा म ठूलो भन्दै झगडा गर्थे । हिजो रामसहाय र प्रदीप हुँदा रामसहायलाई सरकारमा पठाउनुपर्ने बाध्यता थियो । त्यसो गर्दा प्रदीपले विद्रोह गर्थे । त्यसैले पहिला आफूले सिंहदरबारमा पाइला चाल्नेतिर ध्यान दिएका हुन् । उनले त्यसपछि मात्रै अर्को समीकरण खोज्नेछन्, त्यसअघि तलमाथि हुने सम्भावना देखिँदैन भनिन्छ । 
 

टिप्पणीहरू