अमेरिकामा पासपोर्ट त बाँडियो, रेकर्ड कता छाडियो

अमेरिकामा पासपोर्ट त बाँडियो, रेकर्ड कता छाडियो

वासिंगटनस्थित नेपाली दूतावासले बेला बखत अमेरिकाको विभिन्न शहरमा रहेका नेपालीलाई राहदानी वितरणलगायतका सेवा उनीहरू बसेको शहरमै पुगेर  प्रदान गर्दै आएको छ ।

 तर यसरी राहदानी लिएकाहरू कुन अवस्थामा छन् भन्ने अभिलेख दूतावाससँग छैन । त्यही भएर अहिले आफ्ना नागरिकको विवरण संकलन गर्न थालिएको छ । तर त्यो नेपाल सरकार, परराष्ट्र मन्त्रालय वा दूतावासको औपचारिक काम नभएको त्यहीं कार्यरत एक जना कर्मचारीले बताए । राजदूत श्रीधर खत्रीले बाहुली दस्तखत गरेर विवरण संकलनमा सहयोग गर्न पत्र पठाए पनि उक्त कार्य नेपाल सरकार र दूतावासको नभएको उनको भनाइ छ ।

अमेरिकास्थित नेपालीबारे अध्ययन गर्ने नाममा काठमाडौंको मण्डिखाटारमा कार्यालय रहेको आईआईडिएसले एसिया फाउण्डेसनको सहकार्यमा सर्वेक्षण यस्तो काम थालेको हो । सोही सर्वेक्षणमा राजदूत खत्रीले समन्वयकर्ताको भूमिका निर्वाह गरेको बुझिन्छ । 

एउटा राष्ट्रिय र अर्को अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले थालेको सर्वेक्षणमा सहभागी हुन राजदूतले नै पत्र लेखेपछि उक्त विषय अहिले ठूलो चर्चामा छ । सर्वेक्षणमा अमेरिका बस्ने नेपालीलाई आफ्नो आम्दानीदेखि आगामी दिनका कार्ययोजनासम्म टिपाउन आग्रह गरिएको छ । राजदूतले केही नेपालीलाई पठाएको पत्रमा पनि उक्त कुरा उल्लेख छ । त्यसो त अमेरिका पुगेर त्यहींको नागरिकता लिएकाहरू शायद बिरलै नेपाल फर्किने गरेकाले यस्तो सर्वेक्षणको औचित्य पनि खासै नदेखिने कतिपयको टिप्पणी छ । नेपाल नफर्कने नागरिकबारे गरिने सर्वेक्षण पूर्ण नहुने एकथरी अनुसन्धानकर्ताको भनाइ छ । 

यसबारे एक जना भूतपूर्व राजदूतले भने, ‘अमेरिकी नागरिकता लिएका व्यक्तिलाई पत्र लेखेर उसको उमेर, आम्दानी, शिक्षा, पेशा, भावी योजनाबारे जानकारी माग्न खोज्नु नै कूटनीतिक मूल्य मान्यताविपरीतको काम हो । भलै नेपाल सरकारको निर्देशनमा भने त्यस्तो काम गर्न सकिन्छ ।’ सोही पत्रका सम्बन्धमा गैरआवासीय नेपाली संस्था (एनआरएन) का एक जना पदाधिकारीले पनि असन्तुष्टि पोखेका छन् । सर्वेक्षणमा अमेरिकामा वैधानिक बसोबासको विवरण माग्दै आप्रवासनको कारण खोजिएकोमा उनीहरूले आपत्ति जनाएका हुन् । त्यसैगरी अमेरिकामा हुने गरेको विभेदबारे सोधिएको प्रश्नावलीको पत्रमा राजदूतले दस्तखत गरिएकोमा समेत उनीहरूले ‘अचम्म’ मानेका छन् । 

यसबारे जनआस्था संवाददाताले मण्डिखाटारस्थित आईआईडीएसका अधिकारीहरूसँग सम्पर्क गर्दा सर्वेक्षण राजदूत खत्रीको चाहना र ‘आइडिया’ अनुसार गर्न लागिएको जानकारी दिए । सोसम्बन्धमा वास्तविकता थाहा पाउन जनआस्थाले डिसीस्थित नेपाली दूतावासलाई लेखेको इमेलको प्रत्युत्तर प्राप्त भएको छैन । यता, परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि त्यसबारे अनभिज्ञता प्रकट गरेका छन् ।
 

टिप्पणीहरू