सैनिक भाग्ने क्रम रोकिएन, खोजतलास शुरू

सैनिक भाग्ने क्रम रोकिएन, खोजतलास शुरू

तालिमको क्रममा भागेका सैनिकलाई खोज्ने क्रम जारी छ । विभिन्न गणमा तालिमरत सेना बीचमै लापत्ता भएपछि सेनाले छ्याप्छ्याप्ती खोजी भइरहेको हो । फागुन २७ गतेदेखि विभिन्न मितिमा फरार रहेका सैनिकलाई भेटेमा पक्राउ गरेर सम्बन्धित गणको जिम्मा लगाउन सेनाले निर्देशनसमेत दिएको छ । 

व्यक्तिगत समस्या देखाएर १० दिन छुट्टीमा बसेका रोल्पाको बटुकदल गणमा कार्यरत सिपाही मनराज घर्तीमगर नफर्किएपछि धुइँपत्ताल लगाएर खोज्न थालिएको छ । रोल्पाको माडी गाउँपालिका–३ बस्ने मेगलाल घर्तीमगरको नाति एवं नरबहादुरको छोरा उनी अझै बेपत्ता छन् । अस्थायी ब्याच नम्बर २०७४९८ भएका उनी चैत ६ गते कार्यालय फर्किसक्नुपर्ने थियो । तर, उनी तोकिएको समयमा हाजिर नभएपछि सेनाले चैत ७ गतेदेखि खोजी कार्य अघि बढाएको हो । सेनानी दलबहादुर थापाले सबै युनिटलाई परिपत्र गर्दै कहीँ–कतै फेला परेमा उनलाई पक्राउ गरी जानकारी गराउन अनुरोध गरेका छन् । 

त्यस्तै, अर्का भगौडा सैनिक हुन् अमकरी गुरुङ्ग । श्री दुर्गाबक्स गणमा कार्यरत उनी गत चैत १ गतेबाट श्री नम्बर १ बाहिनी अड्डा बालाजूमा तालिमरत थिए । लमजुङ्गको नौथरका स्थायी बासिन्दा उनी कालु गुरुङ्गको नाति तथा काले गुरुङ्गको छोरा हुन् । ब्याच नम्बर २५५४६५ भएका उनी गत चैत ३ गते घर बिदा मागेर निस्किएका थिए । 

दुई दिन बिदामा बसेका उनी चैत ४ गते फर्किसक्नुपर्ने थियो । गणका सेनानी नवराज बस्नेतले आफ्नो जिम्मेवारी क्षेत्रभित्र फेला परेमा पक्राउ गरेर खबर गर्न भनेका छन् । गुरुङ्गले सेनाबाट जारी भएको डिजिटल सैनिक परिचयपत्रसमेत आफूसंगै लिएर गएको बताइएको छ । भैरवनाथ गण, महाराजगञ्जमा कार्यरत सिपाही रोशन कार्कीको पनि चैत १ गतेदेखि अत्तोपत्तो छैन । व्यक्तिगत किताबमा उनको ब्याच नम्बर २८०२७७ र ‘एचआर डिजिटाइजेशन’ मा ब्याच नम्बर २८०२७४ भएको सेनानी सविजराज दुराले बताए । 

भेटिने पनि छन् 

कसैलाई जानकारी नगराई ब्यारेकको पेरिमिटर नाघेर कुलेलम ठोकेका एक सिपाही फर्किएका छन् । फागुन २९ गतेदेखि गायब भएका उनी चैत २ गते हाजिर भएका हुन् । दैलेखको महाबु गाउँपालिका–६ स्थायी घर भएका चन्द्रबहादुर सिंहको नाति एवं राजबहादुरको छोरा वीरेन्द्रकुमार सेनामा सिपाहीका रूपमा कार्यरत थिए । 

फागुन २९ गते कोही नभएको मौका छोपेर उनी रातको १ बजे आफूखुशी ब्यारेकको पेरिमिटर नाघेर भागेको बताइन्छ । फागुन ३० गतेसम्म पनि सम्पर्कमा नआएपछि सेनाले उपस्थिति हुन २४ घण्टे अल्टिमेटम दिएको थियो । उनी गयल भएको तीन दिनपछि आफैँ फर्किएका हुन् । 

किन भाग्छन् सैनिक ? 

पछिल्लो समय सैनिक भागेको खबर निरन्तर बाहिर आइरहेको छ । तालिम गर्दागर्दै भाग्छन्, किन ? दक्ष सैनिक बन्नलाई सेनाले दिने तालिम निकै गाह्रो हुन्छ । तालिम गर्न सक्ने अगाडि बढ्दै जान्छन्, नसक्ने बीचमै छाडेर भाग्छन् । मुलुककै संगठित संस्था मानिने सेनामा अनुशासन पनि उत्तिकै आवश्यक छ । सयौं हण्डरठक्कर खाएर बल्लतल्ल छनोट भएकाहरू तालिमको क्रममा बेपत्ता हुन्छन् । कोही ब्यारेकको तारबार नाघेर त कोही पेरिमिटर चढेर भाग्छन् । कतिपय सैनिक घरमा काम परेको भन्दै निस्किन्छन् र फर्किएर आउँदैनन् । 
 

टिप्पणीहरू