के नेकपा (एस) बदलिन तयार छ ? रामकुमारी झाँक्रीले भनेको कुरा वास्तविक हो । नेकपा(एस) एमालेबाट अलग्गिएर खरानी भएकै हो र त्यो खरानीको मूल्यमा आजका दलहरूको हैसियत निर्माण बनेको हो । अदालतले नेकपा (नेकपा) लाई अलग्याएर एमाले र माओवादी केन्द्र बनाइदिएको भए पनि यदि एमाले सग्लै रहन सकेको भए कांग्रेस दोस्रो हुने कुरामा कुनै शंका थिएन तर यी सिके, रवि, लिङ्देनहरूको भने कतै नामोनिशान रहने थिएन । यिनीहरूको चुरीफुरी नेकपा (एस) खरानी भएको कारणले बढेको हो । यिनीहरू एस खरानी हुँदा फक्रिएका हुन् ।
हिजो एमाले कस्तो थियो, बीचमा कस्तो भयो र अहिले कस्तो छ ? यो भन्दा भिन्न नेकपा (एस) कुन कुन कुरामा छ ? एमाले चरित्रको एस बनिरहने हो कि, एमालेकै पदचापमा हिँडिरहने हो कि, एमालेकै विचारमा हिँडिरहने हो कि एसको आफ्नो छुट्टै केही छ, एमालेभन्दा फरक ? नेतृत्वलाई लागेको होला हामी र पार्टी पनि एमालेजन र एमालेभन्दा भिन्न छौँ भनेर । तर त्यो कुरा नेतृत्वको मनमा लागेर हुँदैन न त उनीहरूले दावा गरेपछि हुन्छ । एमालेभन्दा फरक रहेछ अथवा फरक छ है भन्ने कुरा जनता र तलका कार्यकर्ताले अनुभूत गरेको हुनुपर्छ, उनीहरूले मानेको हुनुपर्छ । हामी तलका मान्छे हौं, कार्यकर्ता हौँ र हामीलाई त्यस्तो कुनै फरक छ भन्ने लागेको छैन । यदि छ भन्ने छ भने यो यो कुरामा यसरी–यसरी फरक छौं भनेर जनतालाई बुझाउनुपयो ।
नेकपा (एस) परिवर्तन हुने अथवा बदलिने भनेको के हो त उसोभए ? यो परिवर्तन हुने भनेको गिद्दले जस्तै धेरै दुःखसहितको मिहिनेत, जसलाई तपस्या भन्न सकिन्छ, गरेर आफूलाई परिवर्तनमार्फत नयाँ जीवनको निर्माण गर्ने भनेको हो । यो भनेको के हो भने अहिलेको एसको बिचार, सिद्धान्त, रणनीति, कार्यनीति, लक्ष्य, दिशा, संगठन हरेक हिसाबले ठोस बनी नसकेको, कमजोर भएको, धेरै कुरा भुत्ते भएको तर त्यसलाई सुधारेर अघि बढ्न चाहेको नयाँ पार्टी हो । तर, हेर्दा के प्रतीत हुन्छ भने हामी पुरानै थोत्रो घरलाई रंगरोगन लगाउन ठीक परेका छौं । पुराना र मक्किइसकेका झ्यालढोका, दलिन त छन् तर ती मक्किइसकेका झ्यालढोका र दलिनले लामो समयसम्म घरलाई धान्न सक्ने देखिन्न । हामीले के पाउँछौँ भने हलुंगो मनले, निसंकोच र ढुक्कसँगले मान्छे यो घरमा बसिरहेका छैनन् ।
एमाले सग्लै रहन सकेको भए कांग्रेस दोस्रो हुनेमा कुनै शंका थिएने । सिके, रवि, लिङ्देनहरूको भने कतै नामोनिशान रहने थिएन ।
कतै सकिने त होइनौँ भन्ने चिन्ता धेरैमा देखिन्छ । हामीलाई चाहिएको नयाँ जगमा बनेको नयाँ घर हो । कतिपय त दुइटै घर ठीक भन्ने खाले छन् । र, कतिपय राजनीतिकभन्दा पनि अवसरको पर्खाइमा दिन काट्न आएकाहरू पनि छन् । नेकपा (एस) को नजरमा आजको पोलिटिकल डिस्कोर्स के हो ? नेकपा (एस) का आजका सामाजिक, आर्थिक एजेण्डा के–के हुन् ? आजको डिजिटलाइज्ड युगमा वर्गसंघर्षको रूप कस्तो हुनुपर्छ ? आजका दिनमा मजदुर भनेर क–कसलाई भन्ने ? बिजनेस अफिसमा काम गर्ने कम्प्युटर अपरेटर्स मजदुर हुन् कि होइनन् ? सयौं बिघा जमिन भाडामा लिएर कृषि व्यवसाय खोली राज्यबाट अनुदान खाने किसान हो अथवा नहर सफा गर्न काँधमा कोदाली बोकेर हिँड्ने किसान हो ?
किसानको पहिचान कसरी गर्ने ? स्कूल र कलेजमा समान शिक्षा चाहिन्छ कि चाहिँदैन ? निजी भनेपछि जतिसुकै शुल्क लिन पाइन्छ ? बैंकमा साना व्यवसायी तथा किसानको पहुँच किन छैन ? यी र यस्ता विषयमा एसको धारणा के हो ? आजसम्म एमालेको नामबाट जे–जति काम भए, गरिए ती कामले देशमा के कस्तो परिवर्तन ल्यायो ? जनताको जीवनमा के फेरबदल ल्यायो ? राजनीतिक परिवर्तन एउटा कुरा हो । आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा परिवर्तन होइन कि विकृति पो बढेको देखियो । शिक्षामा, स्वास्थ्यमा, वैदेशिक रोजगारी, कानुनी सेवा, सुशासन चारैतिर विकृतिका चाङ छन् ।
देशको कुनै पनि क्षेत्रमा रोजगारी छैन । रोजगारीको धेरै सम्भावना भएको क्षेत्र कृषि हो । तर, त्यहाँ रोजगारी होइन कि कृषि कर्ममा लागेर जीवन गुजारा गर्न पनि मुश्किल छ । उद्योग, कलकारखाना त छँदै छैैैनन् भनेपछि त्यहाँ हुने कुरा पनि भएन । पर्यटनको क्षेत्रमा पनि रोजगारी छैन । अर्थात देशमा कतै रोजगारी छैन । रोजगारी नभएका कारण मानिस बसाइँसराइ गर्न बाध्य छन् । विदेश जान बाध्य छन् । हालसालैको एउटा सर्वेक्षणअनुसार अहिले देशभरिमा पाँच लाख घर बसाइँसराइको कारणले खाली छन् । बेरोजगारी अर्थात् आयआर्जनको उपाय नभएको कारणले बसाइँसराइ गर्नुपर्दा एकातिर गाउँबस्ती सुनसान र उजाड बन्दै गइरहेको छ भने अर्कोतिर बसाइँसराइ गरेर जाँदा ती ठाउँमा अनावश्यक दबाब र तनाव सिर्जना हुन गई सामाजिक सन्तुलन खल्बलिनसमेत पुगेको छ ।
बसाइँसराइ गरेर गएका बस्तीमा बस्ने भनेका स्थानीय स्कूलमा पढाउने शिक्षक र शिक्षिकाहरू, बूढो पुस्ता र बाहिर जाने सामथ्र्य नभएका मानिस मात्रै हुन् । ती पाँच लाख परिवार जो आफ्नो थातथलो छोडेर हिँडे तीमध्ये अधिकांशको जग्गा–जमिन अहिले कि त बाँझै छ कि भने एक खेतीबाहेक अरु गरिन्न । किनभने खेती गर्नसक्ने बल भएका मानिस त्यहाँ छैनन् । नेकपा (एस) को यो बसाइँसराइ गर्नबाट रोक्ने नीति के छ ? अर्थात् रोजगारी सिर्जना गर्ने नीति के छ ? रोजगारी सिर्जना गर्न सक्दा बसाइँसराइ रोकिनेरहेछ भन्ने कुरा त शिक्षकहरूको उदाहरण हेरे थाहा हुन्छ ।
अन्त्यमा, पार्टीको शीर्ष तहमा रहेका धेरै कमरेड काठमाडौं केन्द्रित हुनुहुन्छ । बाहिर निस्के पनि आफ्नो चुनाव क्षेत्रभन्दा बाहिर निस्किन रुचि राख्नुहुन्न । अर्को कुरा अन्यत्र जान किन पनि कठिनाइ छ भने जनतासामु पुगेर संगठन गर्न धेरै कठिन छ । जनतासँग प्रश्न धेरै छन् । ती प्रश्नको जवाफ दिन झन् कठिन छ । कष्ट व्यहोरेर, दुःख गरेर गिद्धले आफ्नो बूढो र झर्न आँटेको प्वाँख आफ्नै ठुँडले उखेलेर फाली नयाँ प्वाँख उमारेर फेरि आकाशमा उडेजस्तै यी पुराना धङधङीहरूलाई, पुराना जडतालाई, पुराना जार्गनहरूलाई र पुराना बिचारैलाई पनि निर्ममतासाथ उखलेर आजको युग सुहाउँदो, आजको आवश्यकताअनुसारको विचार र संगठन बनाउनुको विकल्प छैन । यस्तो गर्न सकिएन भने हामी खरानी भएर सकिनेछौं र हाम्रो खरानीबाट रामकुमारी झाँक्रीले भनेजस्तै अरु नै जन्मिनेछन् । बदलिएर नयाँ र लामो जीवन बाँच्ने कि यथास्थितिमा रमाएर छिट्टै सिद्धिने हाम्रो हातमा छ ।