‘तपाईंहरू एमाले–माओवादी सम्मिलित सरकारमा गएकोमा कोही पनि खुशी छैनन्, नट इभन इण्डिया’ पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीतर्फ फर्केर यसो भन्दा सबै नाजवाफ भए । रास्वपालगायतको समर्थनमा पहिलो पल्ट पुष्पकमल दाहालले बनाएको सरकारलाई समर्थन गर्दै राप्रपा त्यसैमा सहभागी भएपछि पूर्वराजा ज्ञानेन्द्रले यस्तो असन्तुष्टि पोखेका हुन् । ज्ञानेन्द्रले पूर्वीनेपालको भ्रमण क्रममा भेटघाटका निम्ति राप्रपा अध्यक्ष राजेन्द्रकुमार लिङ्देनसहित ४ जनालाई चैत्र ८ गते झापा बोलाएका थिए । सो भेटमा प्रकाशचन्द्र लोहनी, धवल समशेर राणा, रविन्द्र मिश्रसहित सहभागी थिए ।
निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो पुगेका लिङ्देनबाहेक सबैले औपचारिक पोशाक दौरा सुरुवाल लगाएका थिए । लिङ्देनचाहिँ जिन्सपेन्ट र स्पोर्ट सुजमा थिए । सो भेटघाटको फोटो सामाजिक सञ्जालमा नहालौं भन्ने अध्यक्ष लिङ्देनको आग्रहलाई रविन्द्र मिश्र र धवल समशेरले बेवास्ता गरेको पाइयो । यो भेटपछि राप्रपा नेता तथा रवि लामिछानेका ससुरा उद्धव पौडेलले कार्य सम्पादन । निर्देशन समितिको एक बैठकमा पूर्वराजाले यसो भन्ने हो भने उनलाई हामीले किन बोक्नुप¥यो भन्दै बवाल उठाउन खोजेको श्रोतको दाबी छ । पूर्वराजाको त्यो डायलगका कारण राप्रपाभित्र तनाव सिर्जना हुँदै गइरहेको बताइन्छ ।
महाधिवेशनका बेला लिङेदनले ‘म पार्टी हाँक्ने, तपाईं संसदीय दलको नेता हुने’ भन्दै धवलसमशेरलाई फुक्र्याएका थिए तर लिङ्देन आफैंले दुईतिर कब्जा जमाएपछि राणा रिसाएका छन् । र, यसै झोंकमा पूर्वराजासँग भएको भेटघाटको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको बताइन्छ । अर्कोतर्फ यही २० गते धवलको ठाउँ नेपालगञ्जमा राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गर्ने तयारी छ । यसैबीच लिङ्देनको मनमौजी कार्यशैलीका कारण राप्रपामा विभाजन आए आश्चर्य नमान्नुपर्ने भएको छ । पुस १० गते लिङ्देन झापामा भएकै बेला एमाले अध्यक्ष केपी ओलीले फोन गरेपछि उनी प्लेन चढेर सोझै बालकोट पुगेका थिए ।
पुस ९ गते राति नै सरकार गठनबारे गृहकार्य भइरहेको थियो । त्यहाँ सही धस्काएपछि सोझै उपाध्यक्ष विक्रम पाण्डेको घरमा बोलाइएको बैठकमा सहभागी भए । पहिला सरकारमा सामेल हुने सहमति पत्रमा एक्लै सही धस्काएपछि औपचारिकताको लागि बैठकमा सो कुरा राखे । यो कुरा थाहा पाएका प्रवक्ता ज्ञानेन्द्र शाही सल्लाह नै नगरी एक्लै सही धस्काएर आउने अनि बैठकले अनुमोदन गर्नुपर्ने भन्दै बम्किएका थिए । यसैबीच, २१ सिटे रास्वपाले समर्थन फिर्ता लिएपछि १४ सिटे राप्रपा विभाजन गरी अहिलेको सरकारमा जाने गृहकार्य भइरहेको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसको अधिवेशनमा लिङदेनले गरेको भाषणका कारण अन्य दलका नेतासँग बसेर चियापान गर्न पनि अप्ठ्यारो अवस्था सिर्जना भएको बताइन्छ । त्यसैको नतिजास्वरुप एमाले अध्यक्ष ओलीबाहेक लिङ्देनसहित वरिष्ठ नेता तथा केन्द्रीय नेताहरूसँग अन्य दलका वरिष्ठ नेताहरूले चियापान र बातचित गर्नसमेत नरुचाएको दाबी गरिएको छ ।