सबै श्रेणीहरू

महाकालीको तुइनमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

महाकालीको तुइनमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

नेपालतर्फ पैदलबाटोको सुविधा नहुँदा महाकाली किनारका स्थानीयले भारतीय भूमि भएर यात्रा गर्नुपर्ने बाध्यता दशकौंदेखि रहँदैआएको छ । यो बाध्यताबीच महाकालीमा तुइन तर्ने क्रममा अहिलेसम्म ४२ जना नेपालीको ज्यान गएको छ । 

वैशाख ९ गते व्यास गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा तुइनबाट खसेर स्थानीय सिन्दलसिंह भण्डारीको मृत्यु भएपछि यो संख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तुइन तर्दा बेपत्ता भएकामध्ये अहिलेसम्म ४ जनाको मात्रै शव भेटिएको छ । बाँकी ३८ जनाको नामावली प्रहरीको बेपत्ता सूचीमा छ । तर, महाकालीमा वेपत्ता भएकाहरूका आफन्तजनले लासको समेत आश नगरी परम्पराअनुसार काजकिरिया गरी शोक मनाएका छन् । 

व्यास गाउँपालिकाको सबै वडाका वासिन्दाले महाकालीमा तुइन तर्नुपर्ने बाध्यता थियो ।पछिल्लो समय वडा नम्बर ६ को बडुगाउँ, वडा नम्बर ५ को तिगरम, वडा नम्बर ४ को मलघट्टे र वडा नम्बर २ को मालघाटमा झोलुंगे पुल निर्माण गरिएका छन् । यी पुलको निर्माणपछि आधा दर्जन स्थानमा तुइन विस्थापन भए पनि अझै आधा दर्जन ठाउँको तुइन तर्नुपर्ने बाध्यता छ । 

महाकाली तर्न सीमाक्षेत्रका बासिन्दाले तुइनको प्रयोग गर्दै आए पनि स्थानीय प्रशासनले त्यसलाई गैरकानुनी कार्य भनेको छ । ‘अन्तर्राष्ट्रिय सीमानदीमा तुइनबाट आवतजावत गर्नु अवैध हो, यसबाट हुने क्षतिका लागि सरकार जिम्मेवार छैन’ दार्चुलाका प्रजिअ किरण जोशीले भन्नुभयो । 

नेपालतर्फ पैदलबाटोको समेत सुविधा नभएपछि स्थानीय महाकाली तरेर भारतीय सडक प्रयोग गर्दछन् । महाकालीको किनारैकिनार भारतले लिपुलेक जोड्ने मानसरोवर सडकमार्ग निर्माण गरेको छ । वडाभित्रै एउटा गाउँबाट अर्को गाउँमा जान तुइन तर्नुपर्ने बाध्यता रहेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । 

केपी ओली नेतृत्वको नेकपा सरकारले तुइनमुक्त कार्यक्रममार्फत महाकालीमा आधा दर्जन झोलुंगेपुल भारतको सहमतिमा निर्माण गरेको थियो । तर, महाकालीमा तुइन तर्नुपर्ने बाध्यता हटिसकेको छैन । 

दुई वर्षअघि ०७८ साउन १५ गते वडा नम्बर २ को मालघाटमा जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएपछि यो विषयले धेरै चर्चा पायो । नेपाल सरकारले छानबिन समिति गठन गरेर स्थलगत निरीक्षणमा समेत पठायो । तर, उनको परिवारलाई नेपाल सरकारले १० लाख रूपैयाँँ राहत उपलब्ध गराउनुबाहेक केही उपलब्धि भएन । मालघाटमा केही महिनापछि झोलुंगेपुल निर्माण सम्पन्न भयो तर जयसिंह धामी बेपत्ता प्रकरणको छानबिन हुन सकेन । भारतीय सुरक्षाकर्मी एसएसबीमाथि कुनै कारबाही गरिएन । 

जयसिंह धामीको घटनापछि पनि हालसम्म तुइनबाट खसेका ४ नयाँ घटना भइसकेका छन् । २०७९ असार २२ गते दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका छन् भने २०७९ पुस २१ गते वडा नम्बर ४ को डोकटमा १० वर्षीय दीपेन्द्रसिंह हराएका छन् । 

दुम्लिङमा तत्काल काठेपुल राख्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत मंसिरमा भारतको स्थानीय प्रशासनसंग लिखित र मौखिक अनुरोध गरेको थियो । तर भारतीय प्रशासनले यसका लागि केन्द्र सरकारको स्वीकृति आवश्यक पर्ने बताउँदैआएको छ । चैत्र १६ देखि दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका नयाँ प्रजिअ किरण जोशीले दुम्लिङमा काठेपुल राख्न भारतको पिथौरागढ जिल्लाका डिएम रेनु जोशीसंग कुराकानी गरिएको बताउनुभयो ।