बागलुङमा गरियो सम्मान र पुरस्कृत
-राजेशचन्द्र राजभण्डारी
दिल गंगा प्रधान स्मृति कोष बागलुङले आफ्नो १५ औं समारोहमा अर्थशास्त्रका अन्तर्राष्ट्रिय वैज्ञानिक प्राध्यापक डाक्टर राममनोहर श्रेष्ठ र शिक्षा तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय भूमिका निभाएका घनश्याम पाठकलाई सम्मान गरेको छ ।
सदरमुकाममा आयोजित कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यामन्दिर माध्यमिक विद्यालय र लेखानी माध्यमिक विद्यालयका विद्यार्थीलाई नगद र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।
कार्यक्रममा स्मृति कोषका अध्यक्ष काजीरोशनद्वारा लिखित लघुकथा संग्रह ‘आफ्नै राग’ को प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ र प्राध्यापक डाक्टर राममनोहर श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सम्मानित व्यक्तित्व प्राध्यापक राममनोहर श्रेष्ठ, कालिका माध्यमिक विद्यालय बुटवलका पूर्वप्रधानाध्यापक घनश्याम पाठक, वरिष्ठ अधिवक्ता पद्य्मनाथ शर्मा, साहित्यकार प्रेम छोटालगायत वक्ताले धारणा राखेका थिए ।

सम्मानित व्यक्तित्वको बारेमा समाजसेवी देवबहादुर श्रेष्ठले परिचय गराएका थिए । लघुकथाको बारेमा धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले प्रकाश पारेका थिए ।
बागलुङ सदरमुकाममा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्व शिक्षक स्वर्गीय दिलप्रसाद प्रधान र उनकी धर्मपत्नी स्वर्गीय गंगादेवी प्रधानको स्मृतिमा कोष खडा गरिएको हो । उनका छोराहरु दीपक प्रधान, प्रकाश प्रधान, प्रताप प्रधान, दिपेश प्रधानले स्मृतिकोष खडा गरेर दुईवटा विद्यालयका विद्यार्थी र समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ ।


टिप्पणीहरू