नेताहरुका असन्तुष्टि अनेक

नेताहरुका असन्तुष्टि अनेक

उपनिर्वाचनबाट चौथोपटक संसद छिरेका जसपा अध्यक्ष उपेन्द्र यादवको गुनासो छ, ‘केन्द्रमा मेरो वास्ता छैन भने प्रदेशमा ममात्र किन लचिलो हुनु ?’

सरकारले ल्याएको नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा साझेदार दल भएर पनि जसपालाई सहभागी गराइएन । फलस्वरुप मधेस प्रदेशको हकमा थोरैमात्र कार्यक्रम तय गरिएका छन् । अर्को साता बजेट भाषण हुँदैछ । जसपा नेताहरूलाई सूचना आइसकेको छ, मधेसका हकमा बजेट ज्यादै कम राखियोे ।

बजेटरी छलफलमा पनि आफूहरूलाई सहभागी गराइएन भनी उपेन्द्र यादवले सत्तासाझेदार दलका नेतासँग गुनासो पोखेका छन् । तर, समर्थन फिर्ता लिने, सरकार ढाल्ने खेलमा संलग्न हुने तहको असन्तुष्टि भने नपोखेको एक नेताले जनआस्थालाई बताए । मधेसको हकमा जसपा, काँग्रेस, लोसपा र जनमत पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको उपेन्द्रले ती नेताहरूसँग स्वीकारेका छन् ।

तर, बाहिर चर्चा भएजस्तो उपनिर्वाचनलगत्तै लोसपालाई मुख्यमन्त्री छोड्ने सहमति नभएको उनको दाबी छ । तर, जसपापछि त्यहाँको मुख्यमन्त्री हुने पालो भने लोसपाकै भएको उनले स्वीकारेका छन् । 

यता, केन्द्रमा जसपाका तर्फबाट एक क्याबिनेट मन्त्री र एक राज्यमन्त्री पठाउन बाँकी भएमध्ये उक्त पार्टीले वन तथा वातावरण मन्त्रीमा पर्साका प्रदीप यादव र सिराहाका राजकिशोर यादवलाई किनारा लगाएर अर्बपति उपेन्द्रका भाइ डा. वीरेन्द्र महतो र राज्यमन्त्रीमा प्रमिला यादवलाई पठाएको छ ।
 

टिप्पणीहरू