बालेनको कुरा मान्ने र नमान्नेबीच बक्सिङ

बालेनको कुरा मान्ने र नमान्नेबीच बक्सिङ

सेलिब्रिटी मेयर बालेन्द्र साहको एउटा निर्णय कार्यान्वयनमा नजाँदै उनका पक्षधर (निर्णय मान्ने) र नमान्ने व्यवसायीबीच मुक्कामुक्की चल्यो अस्ति जडीबुटीमा । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो, मध्यम र छोटो दूरीका सम्पूर्ण सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कभित्र राख्नुपर्ने, यात्रु चढ्न र ओर्लन बसपार्क नै पुग्नुपर्ने, टिकट बुकिङ काउण्टर बसपार्कभित्रै लैजानुपर्ने, बसपार्कबाहेक अन्यत्र टिकट काट्न नपाइने निर्णय गरेका थिए बालेनले १९ जेठमा । उक्त निर्णय शिरोपर गर्ने रोल्वालिङ यातायातका चालक–सहचालक र बालेनको निर्णयलाई ‘हावादारी र अव्यावहारिक’ भएकाले नमान्ने अड्डी कसी बसेका अरनिको यातायातका व्यवसायीबीच त्यसदिन कुटाकुट भएको हो । जसमा चार मजदुर घाइते भएका छन् । बालेनको निर्णय मान्दै नयाँ बसपार्कभित्रबाट चरिकोटतिर गुडाइएका रोल्वालिङ यातायातका बा३ख २२९१, बा५ख २६३५, बा४ख ७१७८, बा३ख ६३७४ नम्बरका सवारी साधन दोलालघाट पुग्दा अरनिको यातायातवालाले अपहरण गरेको आरोप रोल्वालिङका अध्यक्ष मिङ्गुर लामाले बताए । 

अरनिको यातायातले जडीबुटीमा सात करोड लागतको बसपार्क निर्माण गरेर त्यहीँबाट पिक अप, ड्रप गर्दै आएको छ । अरनिकोको ६५ प्रतिशत र १३ जना जग्गाधनी (३५ प्रतिशत)को १४ रोपनी जग्गामा बसपार्क सञ्चालित छ, तीन वर्षदेखि । अझै तीन करोड खर्चेर फिनिसिङको काम हुँदै छ । रोल्वालिङले पिक एण्ड ड्रपका साथै पार्किङ पनि त्यहीँ गर्दै आएको थियो । जेठ १९ मा महानगरपालिकाले सूचना प्रकाशन गरी नयाँ नियम लगाएपछि रोल्वालिङ यातायात व्यवसायीले अरनिकोको कुटाइ भेटेका हुन् । रोल्वालिङका ६० वटा ठूला र २० वटा सानो गाडी छन् भने अरनिकोका ६ सयभन्दा बढी बस गुड्छन् । आफ्ना यातायात व्यवसायी कुटिएको, बस र प्यासेञ्जर अपहरणमा परेको भन्दै अरनिकोको दादागिरी, ज्यादती सहन नसकेर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष लामाले बताए । 

‘बालेनको हात्ती झोलामा’ कतिपय यातायात व्यवसायी तथा विज्ञ भने हात्ती झोलामा अटाउँछु भनेजस्तो मूर्खता बालेन साहबाट देखाइएको टिप्पणी गर्छन् । एमाले सचिव रघुवीर महासेठद्वारा सञ्चालित ल्होत्से कम्पनीको पक्षपोषण हुने गरी ठोकिएको निर्णयले भद्रगोल राजधानीको यातायात व्यवस्था झनै तहसनहस हुनेमा चिन्ता पोख्छन्, यातायात विज्ञहरू । 

अरनिकोका अध्यक्ष केदार क्षेत्री ल्होत्सेलाई पोस्ने गरी भएको निर्णय अव्यावहारिक र कार्यान्वयन गर्न नसकिने बताए । भन्छन्, नयाँ बसपार्कको क्षमता ७ सय सवारी साधन धान्ने मात्र हो । बालेनको निर्णय कार्यान्वयनमा गए दैनिक ५ हजार बस÷माइक्रो÷टाटासुमो नयाँ बसपार्क पस्नुपर्ने हुन्छ । जसमा अरनिकोका ६ सय, बिपी राजमार्गमा चल्ने २ हजार, धुलिखेलतिर गुड्ने ४ सय, पासाङ ल्हामु राजमार्गमा चल्ने २ सय, बल्खुबाट छुट्ने ९ सय टाटा सुमो, पूर्वतिर रात्रि र दिवा गरी छुट्ने ३ सय, पश्चिमतिर छुट्ने ८ सय गरी झण्डै ५ हजार सवारी साधन छन् । नयाँ बसपार्ककको क्षमताभन्दा ७ गुणा बढी सवारी साधन त्यहाँ दैनिक भित्र्याउँछु भन्नु झोलामा हात्ती हाल्न खोज्नुजस्तै न हो । 

अर्काेतिर पिकअप र ड्रपका लागि पनि बसपार्क नै पुग्नु अर्काे महाभारत हो । जस्तो कोही प्यासेञ्जर कलंकी बस्छ भने ऊ करिब ८ किमि दूरी पार गरेर गाडी चढ्नकै लागि बसपार्क पुग्नुपर्ने भयो । कोटेश्वर बस्ने मान्छे दोलालघाट जानु छ भने ल्हासा जाने कुतीको बाटो भनेझैँ गाडी चढ्नकै लागि १४ किमि दूरी पार गरेर नयाँ बसपार्क पुग्नुपर्ने भयो । त्यति नै दूरी पार गरेर कोटेश्वरसम्म फर्कनुपर्ने भयो । यो कत्तिको व्यावहारिक होला ? औसतमा अहिले दैनिक काठमाडौँ छाड्ने र भित्रिने यात्रुको संख्या १ लाख ४० हजार हाराहारी हुन आउँछ । दैनिक यो भीड थुप्रन थालेपछि बसपार्कले थेग्छ ? अहिले नै चक्रपथको यातायात व्यवस्था ध्वस्त छ भने त्यतिबेला हुने उपत्यकाको ट्राफिक समस्या कहाँ पुग्ला ? 

फेरि अरनिको यातायातका ६ सय गाडीले संघीय सरकारले दिएको रुट परमिट लिएका छन् । त्यो रुट परमिट स्थानीय सरकारले खारेज गर्न मिल्छ ? लौ त, बालेनले निर्णय गरिहाले भन्दै अरनिको यातायात नयाँ बसपार्क छि¥यो । त्यहाँ रुट परमिट नभएको भन्दै ट्राफिक प्रहरीले चिट काट्न थालेपछि हुने विद्रोह कस्तो होला ? प्रविधिले यतिबिघ्न फड्को मारेको छ कि त्यसको अत्यधिक प्रयोग गरेरै उनले चुनाव जितेका हुन् । एक क्लिकको भरमा घरैबाट टिकट काट्न पाइन्छ, अनलाइनमार्फत । त्यही टिकट काट्नकै लागि नयाँ बसपार्क पुग्नै पर्ने निर्णय कति व्यावहारिक हुन्छ? सर्वसाधारणले चढ्ने बसको टिकट काट्न नयाँ बसपार्क पुग्नुपर्ने बाध्यकारी व्यवस्था बनाएका बालेनले प्लेनको टिकट एयरपोर्टमा मात्र काट भन्न सक्लान् ? 

काठमाडौं महानगरको प्रमुख प्रशासकीय रुद्रमान सिंह तामाङ हुँदा ल्होत्सेले गोंगबु बसपार्क हात पारेको हो । अहिले सात सय क्षमता भएको नयाँ बसपार्कमा दैनिक पाँच हजार सवारी साधन छिराउने र पिक अप तथा ड्रप गर्न दिएबापत तीसँग कम्तीमा एक हजारका दरले असुल्ने ल्होत्सेको योजना हो । दीपक कुँवर ल्होत्सेमा हर्ताकर्ता छन् । उनैको पक्षपोषण हुने गरी बालेनले गरेको निर्णयलाई यातायातकर्मीले उनको लोकप्रियताको ओरालो यात्रा भनेका छन् । ती यातायातकर्मीले भने, ‘यो काठमाडौं यस्तो ठाउँ हो जसले नानीमैयाँ दाहाल, गोल्छे सार्कीदेखि झक्कु सुवेदीसम्मलाई जिताइदियो । अघिल्लो पटक पूर्वप्रधानमन्त्री माधव नेपाललाई हराएका उनै सुवेदीले पछिल्लो समय जमानत जोगाउनसमेत नसकेको बालेनले नबिर्सिउन् ।’
 

टिप्पणीहरू