जहाँ गयो त्यहीँ थर्काउने, सकेसम्म तल र माथिका सबैलाई दुःख दिने जर्नेलका रुपमा चर्चित सोभेन्द्र महतको आतंकबारे जंगी अड्डामा फेरि चर्चा चल्न थालेको छ । उनी गत पुस महिना मण्डिखाटारस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका पूर्व तीन तारेजर्नेल बलदेव महतका कान्छा भाइ हुन्, जो जुम्लास्थित २४ बाहिनीको प्रमुख बनेर गएका छन् । यसअघिका हाकिम रामचन्द्र खत्रीको पालामा लेखा हेर्ने क्याप्टेन सुदिप श्रेष्ठले ठेकेदारसँग १० हजार रुपैयाँ लिएको थाहा पाएपछि दिएको दुःखदेखि जर्नेल डा.प्रेमसिंह बस्न्यातलाई सिरहाको चोहर्वामा गुल्मपति हुँदा खेपाएको सास्तीसम्मको चर्चा अहिले एक्कासि उठ्न थालेको हो ।
अघिल्ला बाहिनीपतिको छिद्र खोज्दै जाने क्रममा लेखापाल सुदीपमार्फत इन्भर्टरमा १५ हजार, इन्टरनेटमा ६३ हजार, मेनेजरको पासवर्ड प्रयोग गरी चलानी पठाउँदा टिएडिएबापत तलमाथि भएको २५ हजारका कैफियत भेटिएसँगै महतले डोसियरमा जनाएर अन्तै पोष्टिङ मात्र गरेनन्, प्रधानसेनापतिको सैनिक सचिवलाई समेत उजुर लेखी पठाए । त्यसैको थप छानबिनका क्रममा जमदार क्लर्कसहितलाई जंगी अड्डामा झिकाएर बयान लिइसकिएको छ भने कोर्ट अफ इन्क्वायरी गठन गरी थप पात्रहरुलाई हेलिकप्टरमा काठमाडौं ल्याउने कामसमेत भइरहेको बुझिन्छ ।
यिनैले डा.प्रेमसिंह बस्न्यातलाई सिरहामा गुल्मपति हुँदा काठ काण्डमा कोर्टमार्शल गराएका थिए । बन्दोबस्ती शिक्षालयमा हुँदा त्यहाँका लेखापालको जागिरै खाइदिए । तत्कालीन २७ बाहिनीपति बाबुराम श्रेष्ठविरुद्ध पनि भर्ना छनौटमा अनियमितता गरेको भनी पूर्णचन्द्र थापाकहाँ कुरा लगाएर करिअर पछाडि पारिदिए । यस्तो काम आफैंले गर्ने हैन, अरुलाई उकासेर रिपोर्ट गर्न लगाउने उनको बानी हो भनिन्छ । उनी बलदेवका कान्छा भाइ अनि बलदेव र पूर्णचन्द्र थापा साथी भएकै कारण उनीमार्फत गएका कुराको सुनुवाई हुँदा धेरैले दुःख पाउने गरेको समकालीनहरुको गुनासो छ ।
उनीजस्तै नेपालगञ्जस्थित ४ बाहिनीका जर्नेल प्रकाश थापाको असहिष्णु व्यवहारले पनि धेरै अफिसरलाई रुवाएको आरोप छ । थापाको यस्तै स्वभावका कारण अधिकृतहरु त्यस क्षेत्रमा जान हिच्किचाउने गरेका छन् ।