पत्रकारले खाएर उधारो नतिरेपछि....

पत्रकारले खाएर उधारो नतिरेपछि....

सुदूरपश्चिम प्रदेशको कृषि पत्रकार महासंघका अध्यक्ष एवं वरिष्ठ पत्रकार हिमेश बिकले उधारो खाएर पैसा नतिरेपछि एक जना होटल सञ्चालकले पत्रकार महासंघको डडेल्धुरा शाखा गुहारेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–५, कीर्तिपुरस्थित अम्बिका होटलका प्रोपाइटर दिपेन्द्रबहादुर साउदले उनले खाएको उधारो उठाइदिन माग गर्दै निवेदन दिएका हुन् । 

झण्डै तीन सातादेखि निरन्तर ताकेता गर्दा पनि बिकले पैसा चुक्ता नगरेपछि बाध्य भएर निवेदन दिएको साउदले बताए । उनका अनुसार बिकस“गै आएका पाँच जना साथीले पाँच हजार ६६५ रूपैयाँको उधारो खाएका थिए । उधारो जेठ १२ गतेको भएको उनको भनाइ छ । उनीहरू सो दिन राति अबेला होटलमा खाना खान भनेर आएको साउँद बताउँछन् ।

टोलीले अछामबाट आएको र एकदम भोक लागेको भनेपछि आफूले नकार्न नसकेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूले खाना बनाइदिनु, एकदमै भोक लागेको छ भनेपछि मैले होस् त नि भनेर बनाइदिएँ । मासु छ ? भनेर सोध्नुभयो । पसलमा थिएन । मासु पसलेको घरमा पुगी उनलाई उठाएर मासु ल्याएको हुँ । राति १ बजेसम्म उठेर खुवाएँ । पैसाको कुरा गर्दा भोलि बिहान मिलाउँला भनेर जानुभयो । त्यसपछि त आउनु नै भएन ।’

शुरु शुरुमा फोन गर्दा बैंक खाता नम्बर मागेको र पछि फोन नै उठाउन छाडेको उनको भनाइ छ । आफूले दुई सय पटकभन्दा बढी फोन गर्दा पनि पत्रकार बिकले एकपटक पनि ‘रिसिभ’ नगरेको उनले बताए । 

‘फोन रिसिभ गरिदिनुभएको भए पनि मैले महासंघमा निवेदन हाँल्दिनथें । त्यति रातिसम्म पकाएर खुवाएको पनि उहाँहरूले बुझ्नुभएन । आज दिनुहोला, भोलि दिनुहोला भन्दाभन्दै महिना बित्न लागिसक्यो । पैसा उठाउने अन्तिम विकल्प नै त्यही देखें’, उनले भनेका छन् । 

महासंघमा निवेदन हाल्नेबित्तिकै पत्रकार बिकले आफ्नो बैंक खातामा पैसा पठाइदिएको उनले जानकारी दिए । त्यस्तै, उनले आफ्नो बेइज्जत गरेको भन्दै गुनासोसमेत गरेको प्रोप्राइटर साउदको जिकिर छ । पत्रकार बिक र उनले टोलीले सो दिन ९०० रूपैयाँको खाना, २५ रूपैयाँको दही, २५ रूपैयाँको फ्रुटी, १७५ रूपैयाँको पानी, एक हजार ६५० रूपैयाँको भोड्का, एक हजार ५०० रूपैयाँको अर्को ८८४८ भोड्का, ६० रूपैयाँको नमकिन, एक हजार दुई सय रूपैयाँको मासु र एक सय रूपैयाँको चुरोट खाएका थिए ।
 

टिप्पणीहरू