सबै श्रेणीहरू

प्रेस पासका लागि दरबन्दी पठाउन विभागको परिपत्र

प्रेस पासका लागि दरबन्दी पठाउन विभागको परिपत्र

सूचना तथा प्रसारण विभागले पत्रकारहरुलाई उपलब्ध गराउँदै आएको प्रेस प्रतिनिधि प्रमाणपत्र (प्रेस पास) का लागि दरबन्दी पठाउन सञ्चार संस्थाहरुलाई सूचना गरेको छ । 

आर्थिक वर्ष २०८०–८१ का लागि प्रेस पास जारी तथा नवीकरण गर्न विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको दरबन्दी पठाउन विभागले भनेको हो । 

श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ तथा नियमावली, २०५३ र प्रेस प्रतिनिधि (प्रमाणपत्र तथा परिचयपत्र वितरण) कार्यविधि, २०७१ को दफा ३३ बमोजिम प्रत्येक वर्ष सञ्चार प्रतिष्ठानले आफ्नो प्रतिष्ठानमा रहेका दरबन्दीको तहगत विवरण र श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको विवरण विभागमा पठाउनुपर्ने व्यवस्था छ । 

विभागले सबै सञ्चारगृहलाई पत्राचार गर्दै श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारको विवरण विभागको बेभसाइटमा गएर अनलाइन सेवाभित्र रहेको प्रेस दरबन्दीमार्फत भर्नुपर्ने जनाएको छ । एक आर्थिक वर्षका लागि निर्धारण गरिएको दरबन्दी विवरण एकपटक बुझाउनुपर्ने र सो विवरण सोही आर्थिक वर्षको अन्त्यसम्म कायम रहने विभागले स्पष्ट पारेको छ । 

त्यसैगरी, पाँच जनाभन्दा बढी दरबन्दी रहेको सञ्चार गृहले तलबी विवरणको प्रमाणित प्रतिलिपि, तलब भुक्तानीका लागि सम्बन्धित बैंकलाई लेखिएको पत्र बुझाउनुपर्नेछ । पाँच जनाभन्दा कम दरबन्दी भएका सञ्चारगृहहरुले पहिलोपटक न्यूनतम पारिश्रमिक प्रदान गर्ने प्रतिबद्धता र दोस्रो पटक अनिवार्य रुपमा तलब दिएको विवरण पेश गर्नुपर्नेछ । 

तोकिएको ढाँचाभन्दा भिन्न रुपमा भरिएका विवरण दर्ता नगरिने विभागले प्रष्टाएको छ । त्यस्तै, गलत विवरण पठाएमा स्वयं संस्था नै जिम्मेवार हुने भनिएको छ । 

विभागले साउन १ गतेदेखि नयाँ प्रेस पास जारी तथा नवीकरणका लागि आवेदन खुलाउने गरेको छ ।