सबै श्रेणीहरू

सुन तस्कर यतिसम्म शक्तिशाली

सुन तस्कर यतिसम्म शक्तिशाली

साढे ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका सबै चिनियाँ नागरिकको राहदानी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले फेला पारेको छ । उनीहरूको साथबाट जिल्ला प्रशासन कार्यालय, काभ्रे र काठमाडौंबाट जारी भएको नागरिकता पनि भेटिएको छ । त्यस्तै, दुई जनाले भारतीय आधार कार्ड लिएको पाइएको छ । सिआइबी स्रोतका अनुसार उनीहरूले गैरकानुनी तरिकाबाट एकैपटक नागरिकता र राहदानी बनाएका हुन् । 

सुनकाण्डमा संलग्न देखिएपछि साउन १४ गते ठमेलस्थित होटल भियनाबाट राजश्व अनुसन्धान विभागको टोलीद्वारा पक्राउ गरिएको दावा छिरिङले कर्मचारीलाई किनेर काभ्रे प्रशासनलाई नक्कली नागरिकता बाँड्ने अखडा बनाएका थिए । चिनियाँमूलका बेल्जियन नागरिक दावाले वि.सं २०७४ पुस २० गते काभ्रेबाट ३०–०१–७४–११८६८ नम्बरको नागरिकता लिएको खुलासा भएको छ । काठमाडौं महानगरपालिका–२, लाजिम्पाट बस्दै आएका ३६ वर्षीय दावासँग जीए ४५९७३६४ नम्बरको बेल्जियन राहदानी पनि छ । राजनीतिक संरक्षणका कारण कल बाइपास, अनलाइन जुवा, केटी तस्करीलगायत अनेक काण्डमा जोगिँदै आएका थिए । 

काभ्रेबाट राम लामाको नाममा नागरिकता फुत्काउने दिङ्ग सेङ्गफा (साउतेन) सँग ईई७२९५३७९ नम्बरको चिनियाँ राहदानी रहेको खुलेको छ । सन् १९९७ फेब्रुअरी ४ मा जन्मिएका उनको राहदानी सन् २०१८ नोभेम्बर ३० मा जारी भएको थियो । उनले काभ्रेबाट २७ अप्रिल १९९६ को बेग्लै जन्ममिति राखेर सन् २०२१ डिसेम्बर २३ मा ३०३०४१–२२५४ नम्बरको नागरिकता लिएको र १२५८९४५७ नम्बरको नेपाली राहदानी पनि भेटिएको सिआइबी स्रोतले जानकारी दिएको छ । 

सोनाम लामा भनिने चिनियाँ नागरिक लि नेङकाई (स्टेप्स् एण्ड रोगर) को पनि चीन र नेपाल दुवै मुलुकको राहदानी छ । चिनियाँ राहदानी ईई ७२९५२२२ र नेपाली राहदानी १२५८९४५६ क्रमशः सन् २०१८ नोभेम्बर ३० र सन् २०२१ डिसेम्बर २३ मा जारी भएको देखिन्छ । सन् १९९७ जुन ५ मा चीनको युन्नानमा जन्मिएका नेङकाई र सेङफाले काभ्रेबाट एकैदिन नागरिकता र राहदानी लिएको खुलेको छ । नेङकाइको नागरिकता नम्बर भने ३०३०४२–२२५४ हो । 

सुन प्रकरणमा पक्राउ परेका लि वेन–सुङ (अली अथवा लि) भनी चिनिने चिनियाँसङ्ग पनि नेपाली राहदानी फेला परेको छ । न्यू ताइपेइ सिटीमा जन्मिएका लिको ३६०३८७६६० नम्बरको राहदानी सन् २०२२ मार्च ८ मा जारी भएको थियो । छिरिङ लामाको नाममा उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट २७३२०६४४९२१ नम्बरको नागरिकता लिएका छन् । चिनियाँ राहदानी लिनुभन्दा अगावै उनले नेपाली राहदानी लिएको पुष्टि भएको सिआइबी स्रोत बताउँछ । सन् २०२२ जनवरी १६ मा उनले १२६२३०४५ नम्बरको राहदानी लिएका हुन् । 

इाओ पुचेङ नामक चिनियाँ नागरिकको भारतीय आधार कार्ड सिआइबीको हात लागेको छ । गत भदौ १ गते समातिएका उनले एलेक्स न्युमाईको नामबाट ८८६९६२७१९६६२ नम्बरको आधार कार्ड लिएको पाइएको हो । हरियाणाको गुरुग्राम जिल्लास्थित चक्रपुरका बासिन्दा भनेर आधार कार्ड बनाएका उनको ईबी ०५६३०२२ नम्बरको चिनियाँ राहदानी सिआइबीले बरामद गरेको छ । राहदानीमा उनको जन्ममिति सन् १९८७ सेप्टेम्बर ६ उल्लेख छ । 

टासी भन्ने थुप्तेन छिरिङको साथबाट फेला परेको भारतीय आधार कार्ड नम्बर ४०८३०२७४४२४८ रहेको छ । उत्तर दिल्लीको सिभिल लाइन्सस्थित मञ्जुका टिलास्थित थुप्तिङ यान्टिङ हाउस नम्बर–१५८ ठेगाना राखी आधार कार्ड लिएका ५३ वर्षीय थुप्तेन काठमाडौं महानगरपालिकाको वडा नम्बर २ मा बस्दै आएका थिए ।