सबै श्रेणीहरू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको काम भोलिदेखि ठप्प

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारको काम भोलिदेखि ठप्प

त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुले आन्दोलन थालेका छन् । करिब ६१ किलो सुन बरामदको घटनापश्चात् विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा बिनाकारण आफुहरुलाई दुःख दिँदै मानसिक रुपमा विक्षिप्त बनाइएको भन्दै यसअघि सामूहिक सरुवा मागेका उनीहरुले आजबाट विभिन्न पाँच बुँदे मागसहित आन्दोलन थालेका हुन् । 

अनुसन्धानको नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिनेलगायत कार्य अविलम्ब बन्द गर्नुपर्ने, कार्यस्थलमा नियमित उपस्थित भई निर्भिक रुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, बिनाप्रमाण थुनामा राखिएको सबैलाई रिहा गर्नुपर्ने, कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य तत्काल बन्द गर्न र कर्मचारीलाई मात्र दुःख दिने कार्य बन्द गर्नुपर्ने उनीहरुको माग छ । 

कर्मचारीहरुले आज सांकेतिक विरोधस्वरुप तीन घण्टा पेन डाउन गरिएको जनाएका छन् । त्यस्तै, भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँचपास शाखामार्फत् हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द गर्ने, भदौ २७ गते यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरु प्रभावित गर्ने र यसबाट हुन सक्ने क्षति सम्बन्धित पक्ष स्वयम हुनुपर्ने उनीहरुले जनाएका छन् । 

आफ्ना माग सम्बोधन नभए विरोधका थप कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।