सबै श्रेणीहरू

‘अमेरिका छिर्ने सपना’ बोकेका दर्जनौँ रोल्पाली दुबईमा अलपत्र

‘अमेरिका छिर्ने सपना’ बोकेका दर्जनौँ रोल्पाली दुबईमा अलपत्र

मानव तस्करलाई लाखौँ तिरेर महिनौँको जोखिमपूर्ण यात्रापछि मेक्सिको हुँदै ‘अमेरिका छिर्ने सपना’ बोकेर हिँडेका दर्जनौँ रोल्पाली दुबईमा अलपत्र परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नयाँ दिल्लीबाट ‘सेटिङ’ मार्फत् दुबई उत्रिएका ५५ जनाभन्दा बढी रोल्पालीहरू दुबईमै अलपत्र रहेको बताइएको छ ।

नेपाली दलाललाई धेरै रकम बुझाएर दुबई गएका उनीहरू ‘ब्राजिल उड्ने दिन’ को ‘सेटिङ’ नमिल्दा खाडीमै अड्किएको महिनौँ भइसकेको छ । ‘तल्लो बाटो’ बाट अमेरिका जान खोजिरहेकाहरू न घर फर्किन सकेका छन्, न अघि बढ्न । दुबई उड्नुअघि लाखौँ रकम उठाएर ‘१५ दिनभित्र ब्राजिल उडाउँछु’ भनेका दलालले तीन महिनादेखि अलपत्र पारेपछि रोल्पाका २५ वर्षीय राजेन्द्र घर फर्किने उपाय खोजिरहेको बताउँछन् ।

‘अमेरिका पठाउने एजेन्टलाई पहिलो चरणमा सात लाख रुपैयाँ दिएर दुबई आएको तीन महिना भइसक्यो । मजस्ता धेरै साथीभाइलाई एजेन्टले यता न उता पारेको छ । हामीहरू घर फर्किने कि यतै बस्ने भन्ने तनावमा छौँ,’ उनले भने ।

अमेरिका जान हिँडेका राजेन्द्रजस्ता दर्जनौँ रोल्पाली युवाहरू दुबईमा छरिएका छन् । आफूहरू दलालको जालोमा जेलिँदा दुबईमै हराइरहेको बताउँछन् रोल्पाका कृष्ण । उनी भदौको अन्तिमतिर दाङका एक मानव तस्करका सहयोगीलाई सात लाख तिरेर भिजिट भिसामा दुबई उडेका थिए ।
मानव तस्कारले ‘रोल्पा र रुकुमबाट अमेरिका जाने सोच’ बनाएका अन्य युवाभन्दा अघि नै मेक्सिको पुर्याउने बताएपछि उनी तीन महिनादेखि दुबईमै छन्।

‘मेरो गाउँका सबै साथीभाइहरू अमेरिका गइरहेका छन् । त्यसपछि मलाई पनि रहर लाग्यो, अमेरिका गइसकेको एकजना साथीको सल्लाहमा दङ्गाली एजेन्टलाई ११ लाख बुझाएर आएको हुँ,’ दुबईमा अलपत्र परेका कृष्णले भने, ‘दलालले त मलाई अरुभन्दा अघि पठाउँछु भनेको थियो । तर अहिलेसम्म पठाउनै सकेको छैन ।’

रोल्पा, रुकुम र दाङका धेरै युवाले ‘अमेरिकी सपना’ बोकेर दिनदिनै गाउँ छाडिरहेका छन् । उनीहरू चर्को मूल्यमा झण्डै ५० देखि ८० लाखसम्म ऋण काढेर ‘दिल्ली, दुबई, टर्की, ब्राजिल’ उड्छन् । तीमध्येका केही युवा कोलम्बिया–पानामाको डरलाग्दो जंगलबाट मेक्सिको सीमापार गरिसके । उनीहरूकाअनुसार कति हिँडिरहेका छन्, कति महिनौँदेखि दुबईमै अल्झिएका छन् ।

‘भिजिट भिसामा यहाँ आएका मेरो गाउँका तीनजना मसितै बसिरहेका छन्,’ दुबईमा रहेका रोल्पाका ललित घर्तीले भने, ‘एजेन्टले उनीहरूबाट धेरै पैसा लगेर दुबईमै राखेको छ । यिनीहरूसँग अब खानेबस्ने पैसा पनि छैन ! पैसा जति सबै एजेन्टले लगेछ, उडाउँदैन पनि । केहीदिन पर्ख–पर्ख मात्रै भन्छ ।’

दुबईस्थित रोल्पा सेवा समाजका एक पदाधिकारीले बताएअनुसार हिजोआज जताततै रोल्पाली भेटिन्छन् । ‘भिजिट भिसा’ मार्फत् दुबई छिरेका उनीहरूले सबैजसोले रूस वा अमेरिका उड्ने बताउने गरेका छन् ।