नेतालाई गाडीका ताँती, खान्की नानाभाँती

नेतालाई गाडीका ताँती, खान्की नानाभाँती
सुन्नुहोस्

नेतालाई पद र विलासिताले ‘पुग्दैन’ भन्ने कुरा बालकोटको दृश्यले बताउँछ । आँगनभरि शानदार गाडीहरू सजिएका छन् । आफ्ना लागिमात्रै हैन, पिए र पाहुनाका लागि पनि अलग–अलग गाडी छन् । सुविधामा पाइने प्रहरी र सशस्त्रका सवारी साधनको हिसाब नगर्दा पनि आधा दर्जन गाडी बालकोटमा कहिल्यै टुट्दैन ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदा चढ्ने गर्नुभएको सवा ३ करोड दरका सेता दुईवटा गाडी ०७८ असारमा पदमुक्त भएपछि बालुवाटारमै छोड्नुपर्ने थियो । तर, साथमै ल्याउनुभयो । अहिलेसम्म पनि ती बालकोटका आँगनमा देखिन्छन् । यसबाहेक उहाँका पिए राजेश बज्राचार्य अलग्गै गाडीमा सवार हुन्छन् । उहाँ आफूचाहिँ एक्स एट ब्राण्डको लचकदार गाडीमा चढ्ने गर्नुहुन्छ ।

ओली निवासमा देखिने गाडीको लर्कोतिर हेर्दै गत हप्ता केही एमाले नेताहरू भन्दै थिए, ‘मोदीजस्तै बन्छु भन्नेले यो के गरेको होला ?’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एउटा सरकारी कार्यक्रममा सहभागी हुँदा दाइ पनि साथमै थिए । मोदीसँगै खाना खाए । तर, दाइले खाएको खानाबापत मोदीले चेक काटेर अलग्गै पैसा तिरे । उनको भनाइ थियो, ‘म पो प्रधानमन्त्री हुँ, राज्यले मलाई खुवाउनुभएको छ । तर, मेरो दाइ त राज्यले खुवाउनु–पिलाउनुपर्ने त्यस्तो कोही व्यक्ति हैन । त्यसैले म आफैं पैसा तिर्छु ।’ अर्थात्, नेता आफैं सदुपयोगी भए कर्मचारी र कार्यकर्ताले राज्यकोषको दुरूपयोग गर्दैनन् । तर ओलीमा यो चेतको विकास भएन । 

उता, ओलीलाई जिल्ला–जिल्लामा दुःख छ । धादिङमा आफूले अगाडि सारेको अध्यक्षका उम्मेदवार डा.रामप्रसाद अधिकारीले भूमि त्रिपाठीसँग हार्ने भएपछि स्थगित अधिवेशन हिजोबाट फेरि शुरु भएको छ । बन्द सत्र शुरु हुँदासमेत भूमिलाई केन्द्रीय सदस्य बनाएर रामप्रसादलाई नै अध्यक्ष बनाउने बालकोटको योजना थियो ।

तर, रातभरिमा पार लागेको थिएन । ओलीका पूर्वपिए रमेश आचार्यसहित उनका बुबा तथा थाँक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र खेम लोहनीहरू ओलीका तर्फबाट भूमिलाई रोक्न भरमग्दुर प्रयत्नमा छन् भनिँदैछ । त्यहाँको स्थिति बुझ्न संगठन विभागको तर्फबाट भानुभक्त ढकाल र माधव ढुंगेल धादिङ पुगेका थिए । चुनाव भयो भने भूमिलाई रोक्न नसकिने देखेपछि चुनाव नगराउने योजना बनिरहेकै छ ।

उता, हालै महोत्तरीमा १३ वर्षपछि सम्पन्न जिल्ला अधिवेशनमा अध्यक्ष पदका चार उम्मेदवार आइलागे । जित्न त शंकर पोखरेल पक्षका बलराम यादवले जिते । तर, बालकोटबाट नउठ्नु भनिएका शिवचन्द्र सिंहले अध्यक्षमा उठेर बलरामलाई आच्छुआच्छु पारिदिए । 

दोलखामा बालकोटबाट उठाइएका अध्यक्षका प्रत्यासी इश्वरचन्द्र पोखरेललाई पार्वत गुरुङ पक्षले चुनौति दिँदा हार खाएका छन् । निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठलाई पुनः अध्यक्ष बनाउँदा सर्वसम्मत हुने स्थिति थियो । तर, उनी पार्वतपक्षका हुनाले बालकोटले रुचाएन । त्यसैले चुनावबाटै टुंगो लगाउने हुँदा नरबहादुरले ३ सय ३३ मत ल्याएर जिते, ईश्वरचन्द्रले २ सय ३८ मत पाए । 
 

टिप्पणीहरू