नयाँ गठबन्धनले प्रदेशमा तरंग

नयाँ गठबन्धनले प्रदेशमा तरंग
सुन्नुहोस्

केन्द्रीय राजनीतिमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारमा प्रभाव देखिन थालेको छ । 

माओवादी केन्द्रले कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएको भोलिपल्ट प्रदेशमा सरकार छोड्ने र मन्त्री बर्खास्त गर्ने क्रम शुरु भएको हो । माओवादी नेतृत्वको प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिएका छन् भने माओवादीका मन्त्रीहरुलाई कांग्रेसका मुख्यमन्त्रीले बर्खास्त गरेका छन् । 

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल बर्खास्तीमा परेका हुन्।

माओवादी नेतृत्वको प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले धमाधम राजीनामा दिएका छन् भने माओवादीका मन्त्रीहरुलाई कांग्रेसका मुख्यमन्त्रीले बर्खास्त गरेका छन् ।

यता कर्णाली प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरु आफैँ बाहिरिएका छन् । कांग्रेसबाट सरकारमा सहभागी अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसीले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

त्यस्तै, गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हटाएका छन् । सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मुख्यमन्त्रीको बर्खास्तीमा परेका हुन् ।

पार्टीमा बिद्रोह गरेर मुख्यमन्त्री बनेका कोशी प्रदेशका केदार कार्कीको पद पनि धरापमा परेको छ । एमाले र माओवादीले उनको राजीनामा मागिसकेका छन् ।

टिप्पणीहरू