एउटा मन्त्रीद्वारा पुरस्कार, अर्कोबाट तिरस्कार

एउटा मन्त्रीद्वारा पुरस्कार, अर्कोबाट तिरस्कार

एउटा शहरीमन्त्री छँदा बदमासी गरेको भनेर कारबाहीस्वरूप सरुवा । अनि अर्काे मन्त्री आउँदाचाहिँ तिनै कर्मचारी पुरस्कृत, पुनः सोही आयोजनाको हर्ताकर्ता । रमाइलोचाहिँ दुवै मन्त्री एकै पार्टीका । मेटमणि चौधरी शहरी विकास मन्त्री हुँदा कारवाहीस्वरूप सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएका सहसचिव रविन्द्र बोहरा, अहिले सोही पार्टीका धनबहादुर बुढा मन्त्री हुँदा सोही ठाउँमा फर्किएका छन् । 

अर्बौंको ठेक्कापट्टा चलाउन पाइने निकायको रूपमा रहेको शहरी विभागको महानिर्देशकमा प्रजातान्त्रिक पृष्ठभूमिका पद्म मैनाली, रामचन्द्र दंगाल, नवराज प्याकुरेल, चक्रवर्ती कण्ठपछिका पाँचौ नम्बरका कुमार घिमिरेले बाजी मारेका छन् । कुमार संंघीय सचिवालयको निर्माण तथा व्यवस्थापन कार्यालय प्रमुख थिए । उनलाई शहरी विभागमा लगेसँगै रिक्त संघीय सचिवालयमा ४० दिन बसेका रविन्द्र बोहरा पहिल्यै चलाइसकेको बाग्मती सभ्यतामा पुगेका हुन् । त्यहाँ बस्दा झण्डै ८० वटा कन्सलटेन्सी र विदेशी संस्थासँग काम गर्न र ४ अर्ब बजेट खेलाउन पाइन्छ ।

शहरी विकास मन्त्रालयअन्तर्गत विश्व बैंकको सहयोग रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजीआईपी) को परामर्शदाता छनोटमा २० करोडभन्दा बढी अनियमितता प्रकरणमा मुछिएका, १३ औं नम्बरका जुनियर हुन् । पूर्वसचिव रमेशकुमार सिंहको पालामा एडिबी र वल्र्ड बैंकको आयोजना प्रमुख तथा बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा ६० करोडको काम ८२ करोडमा दिएका थिए । उनी ४० दिनमै सरुवा भएर हिँडेसँगै संघीय सचिवालय निर्माण व्यवस्थापन कार्यालयको कामु जगदिश लामिछानेलाई दिइएको छ । 

उता, मधु मरासिनीकै शैलीमा फाष्ट ट्रयाकबाट अर्काे सहसचिवलाई (डोलीडार) को हाकिम बनाएर खटाइएको छ । ती हाकिम हुन्– इ. ईश्वरचन्द्र मरहठ्ठा । हृदयेश त्रिपाठी भौतिक मन्त्री हुँदा सिनियरहरूलाई जिल्लाराम खुवाउँदै ३४ वर्षकै उमेरमा महानिर्देशक भएका ईश्वरचन्द्रलाई अख्तियारबाट भ्रष्टाचार मुद्दा लागेको थियो । तीन वर्ष डोलीको हाकिम हुँदा नदी/खोला नभएकै ठाउँमा कागजमा पाँच करोडको पक्की पुल बनाएर भ्रष्टाचार गरेको मुद्दा अख्तियारले ७९ फागुन १५ गते चलाएलगत्तै । झण्डै १३ महिना निलम्बनमा परेका उनलाई विशेषले गत चैतमा सफाइ दिएको र गण्डकीको भौतिक मन्त्रालयबाट संघीय शहरी विकास मन्त्रालयको पूर्वाधार महाशाखामा सरुवा गरिएको थियो ।

उक्त महाशाखामा महिना दिनसम्म पनि जिम्मेवारी लिन नमानेपछि डोलीका हाकिम भरत अर्याललाई उक्त महाशाखामा तानेर अहिले उनी डोलीडार सम्हाल्न पुगेका छन् । १२ अर्ब बढी बजेट रहेको यो ठाउँमा अब उनी सचिव नबुञ्जेल (कम्तिमा तीन वर्ष) बस्नेछन् । सचिव हुने लाइनमा रहेका अमृत श्रेष्ठ, बाग्मती प्रदेश भौतिक मन्त्रालयको सचिव छन् । भरत अर्याल बढुवा भएपछि बल्ल पालो आउनेछ, ईश्वरको ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू