गर्मी बढेपछि धनगढीका विद्यालय पुनः बन्द

गर्मी बढेपछि धनगढीका विद्यालय पुनः बन्द

कैलालीको धनगढी उपमहानगरपालिकाले पुनः विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मी बढेपछि भोलिदेखि तीनदिन विद्यालय बन्द गर्न लागिएको हो । 

उपमहानगरले आज सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै तीन दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ । वर्षे बिदाबाट मिलान हुनेगरी असार ७ गतेसम्म बिदा दिन उपमहानगरले भनेको छ । 

‘उपरोक्त विषयमा हाल बढ्दो अत्याधिक गर्मीको कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै मिति २०८१–०३–०५ गतेदेखि ऐ. ७ गतेसम्म वर्षे बिदाबाट मिलान हुनेगरी यस उपमहानगरपालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले अध्ययन–अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउनुहुन...’, पत्रमा उल्लेख छ । 

यसअघि गर्मीकै कारण गत जेठ १८ देखि जेठ २४ गतेसम्म पनि धनगढीका विद्यालय बन्द गरिएको थियो । केही समययता मुलुकभर दिँउसोको तापक्रम निकै बढेको छ । विशेषगरी तराई र मधेशका अधिकांश जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तापक्रम बढेसँगै तातो हावा (लु) पनि चलेको छ । जसका कारण अधिकांश पालिकाका विद्यालय बन्द गरिएको छ ।
 

टिप्पणीहरू