आवास निर्माणमा बागमती प्रदेश सरकारले चार लाख दिँदै

आवास निर्माणमा बागमती प्रदेश सरकारले चार लाख दिँदै

बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत अति विपन्न परिवारका लागि आवास निर्माण प्रक्रिया अघि बढाएको छ । सिन्धुपाल्चोकमा ३० घरधुरीलाई आवास निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

भौतिक पूर्वाधार विकास कार्यालय धुलिखेलका अनुसार भोटेकासी गाउँपालिकामा पाँच, त्रिपुरा सुन्दरी गाउँपालिकामा दुई, चौतारा साँगाचोकगढी नगरपालिकामा ११ घर निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ ।

त्यस्तै मेलम्ची नगरपालिकामा आठ, इन्द्रावती गाउँपालिकामा चार गरेर कूल ३० घर निर्माण गर्न लागिएको कार्यालयले जानकारी दिएको छ । आवास निर्माणका लागि जिल्लाबाट एक हजार ३५२ घरधुरीको निवेदन परेको छ । 

कार्यविधि अनुसार निवेदकहरुको घर र अवस्थाको बारेमा अध्ययन गर्दा २५२ घरधुरी छनौट भएका थिए । छनौट भएका मध्य पनि मन्त्रालयले ३० घरधुरीलाई नयाँ घर निर्माणका लागि मात्र स्वीकृत दिइएको भौतिक पूर्वाधार विकास कार्यालय धुलिखेलका प्रमुख इञ्जिनियर सन्तोष निरौलाले जानकारी दिए । घर निर्माणका लागि पहिलो किस्तामा २० प्रतिशत, दोस्रोमा ६० र अन्तिममा २० प्रतिशत रकम गरेर कूल चार लाख रुपैयाँ उपलब्ध गराइने कार्यालयले बताएको छ ।

टिप्पणीहरू