आउला त हेलिकप्टर चीनबाट ?

आउला त हेलिकप्टर चीनबाट ?

चीनले नेपाली सुरक्षा निकायहरुलाई थप सक्षम बनाउन अत्याधुनिक प्रविधि, उपकरण र सवारी साधन उपलब्ध गराउने भएको छ । अघिल्लो साता नेपाल आएको पाहुना टोलीले उक्त वचन दिएको बुझिएको छ ।

सिचुआन प्रान्तका उपगभर्नर तथा सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हानपिङ नेतृत्वको छ सदस्यीय टोलीले गृह मन्त्रालयमा अघिल्लो बुधबार गरेको भेटवार्तामा नेपालमा हुने विपत रोकथाम तथा नियन्त्रणमा सघाउ पुर्‍याउन तयार रहेको स्पष्ट सन्देश दिएको थियो । पाँच वर्षअघि चिनियाँ राष्ट्रपति सि चिनफिङको राजकीय भ्रमणताका गरिएका सहमतिहरु कार्यान्वयन गर्न तदारुकता देखाउँदै उक्त टोली नेपाल आएको थियो । 

विपद तथा प्रकोप रोकथाम एवं उद्धारमा प्रयोग हुने प्रविधि, उपकरण र सवारी साधन उपलब्ध गराउन राष्ट्रपतिको भ्रमणमा दुई मुलुकबीच एमओयु भएको थियो । श्रोत भन्छ–नेपाली पक्षले कानमा तेल हालेर बसेपछि अहिले चिनियाँ अधिकारीहरु आफैं तातो लगाउँदै आएका हुन् । विपत व्यवस्थापनको निम्ति यसपटक नेपाली पक्षले हेलिकोप्टरको आवश्यकतामा जोड दिएको थियो । चिनियाँ पक्षले भने यसको निम्ति उच्च तहमा कुरा हुनुपर्ने जवाफ दियो । तर प्रहरीलाई सय वटा सवारी साधन र २१ वटा ठूला ड्रोन उपलब्ध गराउनमा पूर्ण सहमत भएको बताइन्छ । 

सार्वजनिक सुरक्षा विभागका कमिस्नरको टोलीमा दुई वटा नगरका मेयरसहित छ जना थिए । सेचुवान प्रान्तीय सुरक्षा कमिस्नर भए पनि सोझै बेइजिङमा रिपोर्टिङ गर्ने अधिकारप्राप्त भएकाले येको जिम्मेवारीलाई शक्तिशाली मानिन्छ । भेटमा चिनियाँ पाहुनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिवृद्धि गराउन चीनमा तालिम तथा कार्यशालाको आयोजना गर्न सकिने धारणा राखेको बताइन्छ ।
 
सिंहदरबारमा औपचारिक भेटवार्तापछि पाहुनाको सम्मानार्थ गृहका अधिकारीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा दिवा भोजको आयोजना गरेका थिए ।

रवि लामिछाने गृहमन्त्री बनेपछि प्रहरी संगठनभित्र एकथरी उच्च अधिकारीहरु आइजिपी  वसन्तबहादुर कुँवरको विरुद्ध मन्त्रीको कान भर्न व्यस्त भए । त्यही बेला दुर्गा प्रसाईं आफ्ना अङ्गरक्षक र आधुनिक हतियारसहित सर्वोच्च अदालतको ढोकामा भेटिए । भ्याली एआइजी दीपक थापाले मन्त्रीलाई त्यसबारे तत्काल जानकारी गराए । उनले एउटाको नामको हतियार  अर्कैले बोकेको देखिएको रिपोर्टिङ गरेपछि लामिछानेले ठाडै पक्रन आदेश दिए । प्रसाईं आफूविरोधी भएकाले मन्त्रीले यस्तो मौकामा समात्न लगाउनु नौलो कुरो भएन । त्यसबीच प्रहरीलाई प्रसाईंलाई नपक्रन प्रधानमन्त्रीको फोन गयो ।

प्रधानमन्त्रीको भनाइसँग आफ्नो स्वार्थ बाझिएपछि गृहमन्त्री र उनलाई रिपोर्टिङ गर्ने प्रहरीका केही हाकिम मन नपर्नु अस्वाभाविक पनि थिएन । यसवीच नेपालका कुनै पनि सुरक्षा फौजसङ्ग नभएको दुर्गाको हतियार सधैंका लागि जफत गर्नेबारे प्रहरीले गृहलाई पत्राचार गरिसकेको छ । उक्त हतियारको लाइसेन्स नवीकरण हुने अवस्था त झनै देखिँदैन ।

यता गृहमन्त्रीको पनि बालुवाटारभन्दा बालकोटतिर बढी जाउआउ हुनुलाई उच्च राजनीतिक वृत्तले स्वाभाविक रुपमा लिएको पाइन्न । प्रधानमन्त्री र रविबीच कतिपय इस्युमा देखिएको अन्तरबारे बालकोट राम्रैसँग जानकार छ । अमेरिका जानुअघि स्वयं प्रहरी महानिरीक्षक कुँवरले एमाले अध्यक्षलाई भेटिसकेको अवस्था छ ।

यता, प्रधानमन्त्री दाहाल सुरक्षा निकायलाई गिजोल्दा उत्पन्न हुने गम्भीर परिणामबारे जानकार हुनुहुन्छ । पहिलो कार्यकालमा सेनापति हटाउँदा पद त्याग्नु परेको घटना यति चाँडै बिर्सने त कुरै भएन  । हटाएको आइजी अदालतबाट अन्तरिम आदेश लिएर फर्कंदाको परिस्थिति कति प्रत्युत्पादक हुन्छ त्यो उहाँलाई जानकारी नै छ ।

अघिल्लो साताको शुक्रबार सुरक्षा निकायका प्रमुखहरुको टोली पोखरा जानुअघि बिहान बालुवाटार पुगेका थिए । नेपाल प्रहरी,सशस्त्र र गुप्तचर प्रमुखका सामु आइजी हटाउने चर्चावारे फ्याट्ट कुरा उप्किएपछि प्रधानमन्त्रीले कुँवरलाई ढाडस दिँदै निश्चिन्त भएर काम गर्न अह्राउनुभएको थियो । स्रोत भन्छ, ‘कुँवरले तुलनात्मक रुपमा सक्षम र अनुकूल टिम नमिल्दाको परिणाम अहिले भोग्दै छन् । धेरैजसो आलाकाँचाले माथिल्लो तह भरिएकाले पनि उनीविरुद्धको माहौल संगठनभित्रै बनेको हो । बसन्त स्वयम् पनि एसएसपीबाट ठाडै आइजी भएकाले त्यहाँ उफ्रिएर माथिल्लो तहमा पुग्नेको बाहुल्य देखिन्छ ।’

यसबीच, चीनले सशस्त्र र नेपाल प्रहरी प्रमुखलाई भ्रमणका निम्ति निम्तो दिएको छ । तर, नेपाल–भारत सीमा सम्मेलन यसचोटि काठमाडौंमा गर्नुपर्ने र चीन भ्रमणकै बेला उक्त कार्यक्रम पनि जुध्ने सम्भावनाका कारण आइजिपीहरू चिन्तित छन् । चीनले अगष्ट २३ वा २६ देखि २८ तारिखसम्मको तालिका दिएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू