डिजी अमेरिका,माननीयहरु पोखरा र भैरहवा

डिजी अमेरिका,माननीयहरु पोखरा र भैरहवा

पोखरा र गौतमबुद्ध विमानस्थल निर्माणको छानबिन गर्न गठित छुट्टाछुट्टै संसदीय उपसमितिका सदस्यहरु भोलिदेखि त्यता जान लागेका छन् । एक महिनाभित्र प्रतिवेदन पेश गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । 

उपसमितिले विमानस्थल निर्माणमा ठूलो अनियमितता भएको आशंकाका कारण यथार्थ छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्नुपर्ने छ । यसका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय उपसमिति गठन भएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्नलाई भने एमाले सचिव योगेश भट्टराईको संयोजकत्वमा आठ सदस्यीय उपसमिति बनेको छ । लिङदेन संयोजक रहेको उपसमितिमा सांसदहरु अर्जुननरसिंह केसी,गोकुलप्रसाद बाँस्कोटा,जनार्दन शर्मा, तारा लामा तामाङ,तेजुलाल चौधरी,दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले,रामकृष्ण यादव,रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् ।

भैरहवा विमानस्थल निर्माणसम्बन्धी छानबिन उपसमितिमा अच्युतप्रसाद मैनाली,अमरेशकुमार सिंह, विक्रम पाण्डे,मञ्जु खाँण, मनिष झा,श्यामकुमार घिमिरे र सराज अहमद फारुकीलाई राखिएको छ । उपसमितिले गुरुयोजना, लागत,ठेक्का, निर्माणलगायत हालसम्म विमानस्थल सञ्चालन हुन नसक्नुका सबै पक्षमाथि छानबिन गर्ने छ ।

भैरहवाको टोलीले भोलिदेखि मंगलबारसम्म गौतम बुद्ध विमानस्थलको निरीक्षण गर्ने छ । पोखराको टोली असार २३ देखि २५ गतेसम्म त्यता जाने कार्यक्रम छ । भैरहवाको टोलीले लुम्बिनी विकास कोषको पनि निरीक्षण र स्थलगत अनुगमन गर्ने बताइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई नियुक्तिका लागि सिफारिस गर्ने तत्कालीन मन्त्री प्रेम आलेमगर पोखराको टोलीमा छन् ।

दुवै अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका हुन् । तर निर्माणको झण्डै दुई वर्ष भइसक्दा दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखरा विमानस्थल २२ अर्ब रुपैयाँ बराबरको चिनियाँ ऋण र गौतमबुद्ध एसियाली विकास बैंकसहितको सात अर्ब ऋणमा बनाइएको हो । पोखरा विमानस्थल निर्माणको क्रममा स्वयम् महानिर्देशक अधिकारी परियोजना प्रमुख थिए । उनी यतिखेर अमेरिका भ्रमणमा छन् । 

उनीमाथि पोखरा,भैरहवा, जनकपुर,त्रिभुवन अन्तर्राष्ट्रिय,भक्तपुरको नलिञ्चोक हेलिप्याडलगायत निर्माणमा अनियमितता गरेको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस सम्बन्धमा गत चैतदेखि उनीसँग बयान लिएर छानविन अघि बढाएको छ ।

टिप्पणीहरू