रुखको आयु तोक्दै सकियो अनुसन्धान

रुखको आयु तोक्दै सकियो अनुसन्धान

एउटा मान्छेको आयु कति ? जिल्ला र प्रदेशअनुसार फरक फरक छ । केही वर्षअघिसम्म त मान्छेको औसत उमेर धेरै कम थियो । अहिले केही वर्ष बढेको छ । तर यहाँ मान्छेको सरदर औसत आयुभन्दा धेरै रुखको उमेर हद तोकेर प्रहरीले अनुसन्धान गरेको छ । प्रहरीलाई मान्छे जलेर मरेको अभियोगमा अपराधी पत्ता लगाउन नसकेको जस्ता आरोप लाग्ने गरेका छन् । अनेकौं आरोपबीच पनि प्रहरीले आफूसँग भएको सीप, क्षमता र साधनका माध्यमबाट नयाँ खालको अनुसन्धान गरेको छ ।

काभ्रे जिल्ला प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन्, ‘हामी विल्कुल नयाँ खालको अनुसन्धानमा होमिएका थियौं । संलग्न ब्यक्ति को भन्ने भन्दा पनि उसले गरेको अपराध, अपराधपछिका घटनाक्रमलाई लिएर उठ्न सक्ने प्रश्न हल गर्ने गरी अनुसन्धान सकायौं ।’

एउटा रुखको बाँकी आयु ६० वर्ष रहेकाले प्रतिवर्ष ९० लाख रूपैयाँका दरले हुन आउने बिगो ५४ करोड रूपैयाँ अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ३१ बमोजिम हाल भएको क्षति र भविश्यमा हुने क्षति, मर्मत गर्दा लागेको खर्च समेत क्षतिपूर्तिको दावी ५४ करोड ९९ लाख ७ सय ८० बिगो कायम गरिएको छ । उक्त बिगो कायम गराउँदा घटनामा संलग्न ब्यक्तिहरूको सम्पत्ति छानविन भइरहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

सरकारी वकिलको कार्यालयले प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, फरेन्सिक डिजिटल ल्याब नक्साल र चितवन जिल्ला प्रहरी कार्यालयबाट परीक्षणको प्रतिवादीमध्येका विश्वनाथ चौधरीको मोबाइल परीक्षण प्रतिवेदनबाट प्रमाणमा लाग्ने थप कुरा बुझाएको छ ।

जाहेरी दरखास्तमा उल्लेखित सत्यम लिम्बु र विश्वनाथको बयानमा बोधिचित्तको रुख काट्ने निर्णय पुस्तिका र प्रेस विज्ञप्ती तयार गर्ने कार्यमा सहयोग गर्ने केबी मल्लको यकिन वतनसहितको परिचय खुल्न नआएको हुँदा सोही बखत मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३५ बमोजिम थप दावी लिने व्यहोरा अनुरोध गरिएको छ ।

सोही मुद्दामा सम्पत्ति शुद्धीकरण (मनि लण्डरिङ) ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको, धीरज भन्ने श्यामकृष्ण मैनाली र प्रभात भन्ने दुर्गाबहादुर तामाङको हकमा प्रमाणको अभावमा हाल मुद्दा नचलाउने निर्णय भएको, उक्त निर्णय निकासाको लागि उच्च सरकारी वकिल कार्यालय पाटन, ललिपुरमा पठाइएको, मानबहादुर तामाङको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी श्यामकृष्ण मैनाली भएको डाँकासम्बन्धी कसूर मुद्दामा, प्रतिवादी सागर भन्ने रामकृष्ण मैनाली र धीरज भन्ने श्यामकृष्ण मैनालीका हकमा मुलतवीमा रहेको देखिँदा धीरज भन्ने श्यामकृष्ण मैनालीलाई मात्रै उपस्थित गराइएको थियो ।

दशी प्रमाण तथा कसूरसँग सम्बन्धित चिज वस्तु, घटनास्थलमा खिचिएको भिडियो पेन ड्राइभ, दोभाषेसहितको स्क्रिन रेकर्ड श्रव्य अभिलेख उल्लेख गरिएको छ । घटनास्थलमा जनमुक्ति सेना नेपाल लेखिएको ज्याकेट, फुटेको अवस्थाको ताल्चा, नेपाल कम्युनिष्ट पार्टीको झण्डा, मट्टीतेलजस्तो तरल पदार्थ भरिएको जम्बो बोत्तल, भाटा, बिस्फोटक पदार्थ डिस्पोजपश्चात् परीक्षण भई प्राप्त भएको अवशेषलगायत फेला परेका थिए । सरकारी वकिलको कार्यालयले उक्त घटनालाई पूर्णतः राजनीतिकरण गराई दोषीहरूलाई उम्कन सहज हुने बाटो बनाएको दाबी गरेका छन् ।

पीडितले भने उनै सरकारी वकिलमाथि अनुसन्धानको माग गर्दै बार काउन्सिलमा उजुरीको तयारी गरेका छन् । प्रहरीले बरामद गरेका मोबाइल र त्यसका कल रेकर्ड भने सरकारी वकिल कार्यालयबाट केही व्यक्तिका हकमा नष्ट गरिएको छ । प्रहरीले बुझाएका प्रमाणहरू नष्ट गराउँदै दुई जनालाई मुद्दा नचलाउने निर्णय भएको हो । प्रतिवादी सिजन भन्ने मानबहादुर तामाङले प्रयोग गर्ने गरेको मोबाइलका आधारमा पनि प्रहरीले धेरै प्रमाण संकलन गरेको थियो । चाइनिज व्यापारीसँग कुराकानी भएको विच्याटका संवादहरू प्रमाणका रूपमा संकलन भए पनि अदालतमा पेश भएनन् ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले सिजन भन्ने मानबहादुर तामाङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । उक्त आदेशविरुद्ध मानबहादुर उच्च पुगेका छन् । तर पनि जिल्लामा भएको संगठित अपराध, अपराधमा संलग्न ब्यक्तिहरूको पक्राउ तथा अनुसन्धानबारे अझै आमनागरिकले पत्याउन सक्ने खालको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । हरेक वर्ष बुद्धचित्तका नाममा हुने अपराध तथा लेनदेनका बारेमा जिल्लाबासी सशंकित र त्रसित छन् । बुद्धचित्त रुख धनी निरबहादुर तामाङले काटिएको रुखको क्षतिपूर्तिबापत प्रतिवादीबाट तीस करोड भराई पाउँ भनी जाहेरी दरखास्त दिए । जाहेरवाला समिप त्रिपाठीले क्षतिपूर्तिबापत पाँच करोड चालीस लाख दावी गरेका थिए । रुख काटेपश्चात कलमी गर्न तीन लाख खर्च लागेको हुँदा उक्त रकमसमेत प्रतिवादीबाट भराई पाउन माग गरेका थिए ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू